२३ असार, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ महिनादेखि २३ महिनासम्मका सात जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले बताए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,” उनले भने ।
जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडी बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भानु नगरपालिका, आँबुखैरेनी कार्यालय, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि कार्यालयलाई अनुरोध गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिकाले वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कार्यविधि अनुसार वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको हो । वडा विपद् समितिको संयोजकमा सम्बन्धित वडाका अध्यक्ष रहने व्यवस्था छ ।
बैठकमा व्यास नगरपालिका भित्र हालै आएको बाढी पहिराबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरिएको छ । साथै वर्षात्को समयमा सतर्क रहन र कुनै विपद्जन्य समस्या भएमा ०६५–५६००३४ मा तत्काल सूचना दिन समेत नगरवासीमा अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । बैठकमा व्यास नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा आएका औपचारिक अनौपचारिक सुझावहरुका सम्बन्धमा समिक्षा गरी आगामी नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।