गण्डकी प्रदेश

सेनाको खेलमैदानमा प्यारापिट निर्माण

३१ असार, दमौली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को खेलमैदानमा प्यारापिट निर्माण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा सो प्यारापिट निर्माण गरिएको हो ।

विसं २०७८ मङ्सिरमा तत्कालिन गणपति प्रमुख सेनानी मनोज गुरुङ्को कार्यकालमा निर्माण शुभारम्भ भएको प्यारापिटको काम हालका गणपति प्रमुख सेनानी रामज्योति बोहराको कार्यकालमा निर्माण सम्पन्न भएको छ । उक्त प्यारापिटको मध्यकमाण्ड हेडक्वाटर्रका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा उपरथी श्रेष्ठले सैनिक तथा नागरिकको सम्बन्ध सुदृढ बनाउन नेपाली सेनाले विविध कार्यक्रम गर्दै आएको बताए ।

गणका गणपति प्रमुख सेनानी बोहराले नागरिक सैन्य सम्बन्ध अभिवृद्धिका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाको आर्थिक सहयोग र कालीभञ्जन गण (इ) का सकलदर्जाको श्रमदानबाट निर्मित प्यारापिटको क्षमता ३४० को रहेको गणले जनाएको छ । 

गणले आफ्नो पेशागत भूमिकाका साथै विपद् व्यवस्थापन, जनहितका कार्यमा सक्रियरुपमा क्रियाशिल भई आएको छ । विसं २०७८ साल फाल्गुन महिनामा दमौलीमा भएको आगलागीको विपद्, २०७९ जेठ २७ गते पृथ्वी राजमार्गको मुग्लिन सडक खण्ड भासिएर भएको राजमार्ग अवरोधको विपद्का अलवा कोभिड–१९ को महामारीमा स्थानीय सरकार, स्थानीय जनताको सहजता र सुरक्षाका लागि सुख दुःखको साथी भई हातेमालो गर्दै आएको छ । यसैबीच गणमा आयोजित मैत्रीपूर्ण फुटबलको उपाधि कालीभञ्जनले जितेको छ । व्यास युवा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै कालीभञ्जनले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो ।