लुम्बिनी

सङ्घीय सरकार मातहतका कार्यालयमा जनप्रतिनिधिको भेट

१० साउन, लुम्बिनी । बुटवलस्थित सङ्घीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलवासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि भेटघाटमा गएका छन् ।

बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा आज भेट्न गएको हो । 

बुटवल उपमहानगरपालिकाले गत जेठ १० मा कार्यालय प्रमुखसँगको बैठकमा बुटवलको सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्ने सहमति भए पनि प्रभावकारी काम नभएको भन्दै नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिको टोली कार्यालयमा भेट्न गएको थियो । 

बुटवल बेलहिया सडक विस्तार आयोजनाको कार्यालयमा पुगेर नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न र ठेक्काको म्याद थप नगर्न आग्रह गरे । 

उनले वर्षाअघि नै  बुटवलका खाल्डा पुरेर जोखिम कम गर्नका लागि चासो दिन आयोजनालाई आग्रह गरे । आयोजनाका निमित्त कार्यालय प्रमुख सविता ज्ञवालीले निर्माण कम्पनीको दैनिक कार्यप्रगतिको विवरण लिइरहेको र आवश्यकताअनुसार कारबाही अघि बढाउने बताए । 

यस्तै नगरप्रमुख पाण्डेयले सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माण र डिभिजन कार्यालय मातहतका अरु सडकको मर्मतमा चासो दिन कार्यालय प्रमुख जयलाल मरासिनीलाई आग्रह गरे । 

कार्यालय प्रमुख मरासिनीले सडक निर्माणको काम केही दिनमा सुरु नगरे कारबाही गर्ने प्रतिबद्धता जनाए । सोही टोलीले नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका कार्यालय प्रमुखलाई भेटेर बुटवलमा अनियमित विद्युत् कटौती, लो भोल्टेज, अव्यवस्थित तारलगायत बुटवलवासीका समस्याबारे ध्यानाकर्षण गराएको थियो । 

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा रहेका कार्यालयले बुुटवलका समस्या समाधानमा तत्परता देखाउनुपर्ने बताए । विद्युत् प्राधिकरण कार्यालय का निमित्त प्रमुख किरण खनालले सरकारी कार्यालयबीच समन्वय अभाव भएकाले आगामी दिनमा समन्वय र सहकार्य गर्ने बताए ।

यस्तैगरी बुटवल उपमहानगरको टोलीले खानेपानी संस्थान बुटवल कार्यालयमा पुगेर बुटवलको खानेपानी समस्या र सडक विस्तारमा भइरहेको लापरबाहीबारे कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ ।