१६ साउन, नेपालगञ्ज । जिल्ला कारागार बाँकेमा पानीको समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले पैसा उठाएर बोरिङ जडान गरेका छन् । क्षमताभन्दा बढी बन्दी भएकाले पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्स पावरको बोरिङ रकम उठाएर सञ्चालनमा आएको कारागारका जेलर रामकुमार सोनखरले जानकारी दिए ।
“एक हर्स पावरको बोरिङ कारागार कार्यालयमा थियो, अर्को दुई हर्स पावरको कैदी–बन्दीले दिएको रकमबाट जडान गरी पानीको समस्या समाधान गरिएको छ”, उनले भने । दुई बोरिङ जडान भएपछि पानीको समस्या समाधान भएको उल्लेख गर्दै सोनकरले अहिले जुनबेला चाह्यो त्यतिबेला नुहाउन, लुगा धुने सुविधा भएको बताए ।
जिल्ला कारागार भित्रको काम पनि कैदी–बन्दीले नै गर्ने व्यवस्था मिलाइएको छ । कारागारमा रहेका कैदी–बन्दीलाई ब्लक इँटा बनाउने तालिम दिएर उनीहरुले उत्पादन गरेका ब्लक इँटाले शौचालय र पर्खाल निर्माण गरिएको छ ।
आयस्रोत बढाउन कारागारभित्र निर्माण गरिने संरचना, सडक पिसिसी र शौचालयको ट्याङ्की मर्मत तथा सफाइमा समेत कैदी–बन्दीलाई अवसर दिइएको छ । कैदी–बन्दीको सहमतिबमोजिम बाहिरका ज्यामी र मजदुरभन्दा अलि थोरै ज्याला दिएर काममा लगाउने गरिएको जेलर सोनकरले बताए । “एकातिर कैदी–बन्दीले रोजगार पाएका छन्, अर्कोतर्फ कारागारलाई बाहिरबाट ज्यामी र मजदुर ल्याउने झन्झट हटेको छ”, उनले भने । उनले कारागारभित्रका संरचना निर्माण र रङ्गरोगनसमेत कैदीले गरेको स्पष्ट पारे ।
यस्तै बाँके जिल्ला कारागारमा रहेका कैदी–बन्दीलाई सुत्न, बस्न समस्या भएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखेका कारण सुत्न, बस्न समस्या भएको हो । कूल तीन सय ५० जना अट्ने कारागारमा पछिल्लो समय सात सय ५६ कैदी–बन्दी रहेको जेलर रामकुमार सोनखरले बताए । उनले महिला थुनुवा आए बर्दिया कारागार पठाउने गरेको बताउँदै पुरुष र महिला कैदी आए सम्बन्धित जिल्ला कारागारमा पठाउने गरिएको जानकारी दिए ।
तत्कालीन सरकारले त्यतिबेलाको चापलाई दृष्टिगत गरी वि.सं २०२० मा बनाएको १७ कोठे भवनमा अहिले सात सय ५६ कैदीबन्दी बस्दै आएका छन् । कैदी–बन्दी थोरै भएकाले सोहीअनुसार निर्माण गरिएको भवनमा अहिले खचाखच गरी बसाल्न परेको जेलर सोनखरले बताए। “ठाउँ नभएर एउटा कोठामा ६०–६५ जना कैदी–बन्दीलाई राख्न परेको छ”, उनले भने।
जिल्ला कारागारमा सबैभन्दा धेरै तीन सय लागूऔषध मुद्दाका कैदी–बन्दी रहेका छन् । तीमध्ये जबर्जस्ती करणीका एक सय १० र अन्य अपराधमा सजाय पाएका कैदी रहेको कारगारले जनाएको छ ।