समाचार

परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

२० साउन, काठमाण्डौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ (अगस्ट ९ देखि ११) गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेका मन्त्रालयले आज जनाएको हो ।

दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको छिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्किने मन्त्रालयले जनाएको छ ।