लुम्बिनी

वाणगङ्गा नदी कटानले बस्ती जोखिममा

२१ साउन, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ । बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ ।

जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ । नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै आएको छ । कजरहवा, पडरिया, सिङ्ग्रहा, हरदौना, करैलियालगायतका गाउँमा सो नदीमा आउने बाढीको उच्च जोखिममा रहेका छन् । नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावलगायतका समस्याले कटान नियन्त्रण हुन नसेको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताए । सबैभन्दा बढी सो नगरपालिकाको हरदौना जोखिममा  छ । हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएतापनि निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन ।

यसै सातामा लगातार भएको वर्षाले हरदौनाको विभिन्न स्थानमा बाढीले कटान थालेको हो । सो गाउँको जग्गा कटान गरी नदी गाउँ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानीय शैलेन्द्र चौधरीले बताए । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पटक–पटक अनुगमन गरेपनि काटानको बारेमा कुनै पहल नभएको चौधरीले बताए ।

 नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताएका छन् । कपिलवस्तुको खेतीयोग्य जमिन कटान गर्ने वाणगङ्गा नदीको तटबन्ध निर्माणका लागि बजेट उपलब्ध गराउन सफल भएको आचार्यले जानकारी दिए । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वाणगङ्गा नदी कटान नियन्त्रणका लागि भारत सरकारसँग सम्झौता गरेका थिए। तत्कालीन सिँचाइ राज्यमन्त्री आचार्यले सो नदी नियन्त्रणबारे डिपिआर निर्माण गरी मन्त्रालयमा पेश गरेका थिए । वर्तमान सरकारले बजेट विनियोजन र तबन्ध निर्माण लगायतका कामका लागि बोलपत्र प्रक्रिया अघि बढाएको पूर्वमन्त्री आचार्यले बताए ।