खेलकुद

स्वदेशमै रोजगारी उपलब्ध गराउने मन्त्री गहतराजको प्रतिबद्धता

२१ साउन, भक्तपुर । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको वैदेशिक रोजगारबाट फर्केका युवाको अवस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम २०७९ को उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोगार र उत्पादनमा जोड्न सरकारले प्रयास गरिरहेको बताए ।

सरकारले युवा रोजगारका लागि विभिन्न कार्यक्रम अगाडि सार्दै त्यसका लागि बजेट विनियोजनसमेत गरेको बताउँदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरी ठोस परिणाम दिने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरी सरकारले योजना ल्याउनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीका क्रममा उनीहरूले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले विभिन्न कार्यक्रम अगाडि ल्याएको बताए । त्यस अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिरहेको बताए । युवालाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डिपी ढकालले नेपाली श्रमबजारको अवस्था, समस्या, चुनौती र अवसरका बारेमा चर्चा गरे ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रविधिसँग जोड्दै विदेशबाट फर्किएका युवालाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताए ।

रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रीय सचिवालय सदस्य काजी थापा, सञ्जालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षाबारे चर्चा गरे । रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्ने विषयमा योजना बनाउनका लागि प्रशिक्षण सञ्चालन गरिएको बताए।