आर्थिक

नेप्से परिसूचकको उकालो यात्रा जारी

२२ साउन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३.८२ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१० अङ्कले उकालो लागेर ४०९.५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।

सो उपसमूहको शेयर मूल्यमा ४.५५ अङ्कले ओरालो लागे । त्यस्तै बैंकिङ ०.२२, व्यापार ४७.६, होटल तथा पर्यटन ६०.७४, विकास बैंक ५२.४४, जलविद्युत् २६.२२, वित्त ३३.५ , निर्जीवन बीमा ०.७५, उत्पादन २.७४, अन्य २२.५७, लघुवित्त २७.८८, सामूहिक लगानी कोष ०.०२, लगानी ०.२७ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३० अर्ब ५५ करोड ४६ लाख छ हजार छ सय ७५ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ बराबरको कारोबार भयो ।

त्यस्तै नबिल बैंक रु १२ करोड ७३ लाख ४१ हजार नौ सय आठ, फरवार्ड माइक्रोफाइनान्स रु नौ करोड ९२ लाख ९६ हजार पाँच सय ५६, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड १० लाख २९ हजार १५ र हिमालयन डिस्टिलरी रु छ करोड ६८ लाख ५२ हजार छ सय आठ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै तेह्रथुम पावर कम्पनी ९.६५, उपकार लघुवित्त ९.१३, गुहेश्वरी मर्चेन्ट बैंक ८.७५, एनआइसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले ७.२६ प्रतिशतलले कमाए ।

यस्तै नयाँ सारथी लघुवित्त ३.४८, सामलिङ पावर कम्पनी ३.४३, गरिमा विकास लघुवित्त ३.३८, रुरु जलविद्युत् परियोजना २.९४ र विन नेपाल लघुवित्तका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।