समाचार

जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

२४ साउन, काठमाडौँ । प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कुलेश्वरबाट पक्राउ गरेको हो । 

खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको जनाइएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १० किलो अवैध लागुऔषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । 

धादिङबाट काठमाडौँ आउँदै गरेको बा८०प १०३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तामाङले झोलामा लुकाई ल्याएको अबस्थामा उक्त गाँजा बरामद गरिएको जनाइएको छ । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।