समाचार

मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ

२५ साउन, काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को २४१ अनुसार ‘चोरीसम्बन्धी कसुर’मा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिएर प्रहरीवृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।