गण्डकी प्रदेश

तनहुँमा उद्योग स्थापना : सय बढीलाई रोजगारी

२८ साउन, तनहुँ । चार व्यक्ति मिलेर व्यास नगरपालिका–११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ ।

उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन सुरु भइरहेको उक्त इन्डष्टिजका अध्यक्ष सूर्य तामाङले जानकारी दिए । सो उद्योगमा अहिले दैनिक पाँच सय थान प्लाइ, एक सयभन्दा बढी थान ढोका र ५० थान चौकोसलगायत सामान उत्पादन भइरहेको छ । स्थानीय सूर्य तामाङ, बाबुराम उप्रेती, बाबुराम पुरी र भुपाल आलेको करिब रु १२ करोडको सामूहिक लगानीमा उद्योग सञ्चालन गरिएको हो । अहिले उद्योगमा उत्पादित वस्तु जिल्लाभित्रै खपत हुँदै आएकाले आगामी दिनमा बाह्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाइएको सञ्चालकहरुले  बताए  । 

उद्योग सञ्चालनका लागि  सोह्र रोपनी जग्गा रु ६५ लाखमा खरिद गरी १० रोपनी जग्गा व्यक्तिसँग भाडामा लिइएको उनको भनाइ थियो । केही गरौँ र स्वदेशमा रोजगारीे सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको इन्डष्ट्रिजका अर्का सञ्चालक एवं सचिव बाबुराम उप्रेतीले जानकारी दिए । उप्रेती डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत पदबाट अवकाश प्राप्त व्यक्ति हुन भने अन्य तीन व्यवसायी स्थानीय हुन् । करिब दुई सयसम्म जनशक्तिलाई गाउँमै रोजगारी दिन सकिने लक्ष्य रहेको सञ्चालकहरुले बताए ।  

जिल्लामा यस्ता किसिमका उद्योग कलकारखाना सञ्चालन गरेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेसिनु पर्ने अवस्थामा न्यूनीकरण गर्न सकिने अर्का सञ्चालक बाबुराम पुरीले बताए । 

उक्त उद्योगमा बिजुलीको लाइन गएको समयमा समस्या नहोस् भनी हालै मात्र भारतबाट जेनेटर ल्याई जडानसमेत गरिसकिएको छ ।