समाचार

टानमा त्रिपक्षीय प्रतिस्पर्धा : व्यवसायीको संस्था बनाउने उम्मेदवारको उद्घोष

२८ साउन, काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
यही साउन ३० गते नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् ।

अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र सापकोटाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराएका भण्डारी पनि चुनावी एजेन्डासहित व्यवसायीमाझ पुगिरहेका छन् । तीनैजना उम्मेदवारले टानलाई व्यवसायमैत्री संस्थाका रुपमा स्थापित गराउने बताएका छन् । अध्यक्षका प्रत्याशी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने जानकारी दिए । आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

बास्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताए । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उनको भनाइ थियो । बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था अन्त्य गर्दै टानले नै व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने र व्यवसायीहरुको  सहजीकरणका लागि कर्मचारी सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना रहेको जानकारी दिए ।

अध्यक्षका अर्का प्रत्याशी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए । उनले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताए ।सापकोटाले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा जुट्ने विश्वास व्यक्त गरे ।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपरेका छन् । उनले टानलाई राजनीतिकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना सुनाए ।

यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्षसहित कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् ।