२९ साउन, बुटवल । प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दुर्घटना हुँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु र १४ जना घाइते भएको छ।
उक्त दुर्घटनामा सानो डाम्री निवासी तीन वर्षिया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृत्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए। उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो।
आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो। मृतककी आमा रेमसरा बुढामगर र बुढा हुम बहादुर बुढामगर गम्भीर घाइते छन्। उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।
बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले जनाएका छन्।