समाचार

चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्न अध्ययन अनुसन्धान गर्न आवश्यक


२९ साउन, बनेपा । जिल्लाका ग्रामीण क्षेत्रमा बढी मात्रामा चट्याङबाट मानवीय तथा भौतिक क्षति हुने गरेको भन्दै त्यसको लागि सम्बन्धित निकायबाट यसबाट हुने क्षतिको विषयमा अध्ययन अनुसन्धान गरी न्यूनीकरणको उपाय खोज्न आग्रह गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको परामर्श बैठकमा जिल्लाका खानीखोला, महाभारत, बेथानचोक, चौरीदेउराली र रोशी गाउँपालिकाका अध्यक्षहरुले चट्याङबाट धेरै क्षति हुने भएकाले त्यसको बारेमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गरी न्यूनीकरणको कार्यलाई अगाडि बढाउन प्रक्रिया थालनी गर्न आग्रह गरेको छ ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विज्ञहरुबाट खानीखोला र महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा चट्याङबाट हुने क्षतिको अध्ययन गरेर सहयोग गर्न आग्रह गरे। “जति अर्थिङको व्यवस्था गरे पनि त्यसले कुनै पनि खालको न्यूनीकरण नभएकाले त्यस्ता ठाउँबाट बस्ती नै सार्नुपर्ने पो हो कि भन्नेसम्मको अवस्था सिर्जना भएको छ”, उनले भने, “यस्ता क्षेत्रमा त्यसको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विज्ञ टोली खानीखोला र महाभारत क्षेत्रमा पुग्ने वातावरण मिलाउनका लागि समितिले पहल गरोस् ।” 

सो क्रममा उनले वित्तीय आयोगले पनि कम जनसङ्ख्या भएकोलाई कम बजेट र बढी जनसङ्ख्या भएको पालिकालाई बढी बजेट पठाउने नीति भएकाले कम जनसङ्ख्या भएको र आन्तरिक स्रोतसमेत कम भएका ग्रामीण दूरदराजका गाउँपालिकामा विपद् न्यूनीकरणको क्षेत्रमा बजेट व्यवस्थापन गर्न कठिन भएको बताए । विपद्को पूर्वतयारीसम्बन्धी बैठकमा औपचारिकरूपमा मात्रै छलफल गर्नेभन्दा पनि गहिरो ढङ्गले छलफल गर्दै ठोस योजना निर्माण गर्ने र सम्बन्धित निकायसम्म त्यसको निराकरणका लागि पहल एवं व्यवस्थापन गर्ने काममा जुट्न उनले आग्रह गरे ।

बैठकमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकटका नागरिक विपद्बाट बढी पीडित हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा सङ्घ/संस्था सहयोगका लागि गाउँको दूरदराजमा भन्दा पनि सहर केन्द्रित हुने गरेको बताए । “विपद्को बेलामा सहयोग गर्ने सङ्घ/संस्था जहाँ बाटो र सुविधा पुग्छ, त्यस्ता ठाउँमा मात्रै जाने गरेको पाइएको छ”, उनले भने, “जिल्ला प्रशासन, सुरक्षा निकायबाट यो ठाउँमा जानै पर्छ भनेर तोकेरै पठाएको अवस्थामा बाहेक सुविधासम्पन्न भएको क्षेत्रमा मात्रै घुम्ने गरेको अनूभूति हामीसँग छ ।” 

विपद् सबैको साझा विषय भएकाले समाधान गर्न सबैको हातेमालो त्यतिकै आवश्यक रहेको भन्दै उनले सम्भव भएका पालिका र सङ्घ÷संस्था र सहयोगी निकायबीचमा समन्वयात्मक कार्य गर्न जरुरी रहेको बताए ।

सो क्रममा उहाँले विपद् व्यवस्थापन समितिको बैठक जिल्लाको सदरमुकाममा बोलाएर मात्रै गर्ने नभएर सबै पालिकामा पालैसँग पुगेर गरेको खण्डमा त्यहाँको भौगोलिक अवस्था पनि थाहा हुने र व्यवस्थापनका लागि सबैले मिलेर सहयोग गर्न सकिने भएकाले सङ्घसंस्थालाई पनि त्यहाँसम्म लैजाने सक्ने आधार खडा गर्न सकिने उनले बताए ।

त्यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आफ्नो पालिकाको उच्च भेगका बस्तीमा चट्याङको समस्या भएकाले त्यसको न्यूनीकरणतर्फ केन्द्रित हुन आग्रह गरे । अधिकांश गाउँपालिकामा पानी पर्न थाल्ने बित्तिकै त्रास हुने अवस्था भएकाले त्यसमा सबै मिलेर समस्या समाधान गर्नका लागि आवश्यक रहेको उनले बताए । मिल्ने विषयमा एकापसमा सहयोग गर्न पाऊँ भन्ने किसिमले सहकार्यका साथ अगाडि बढ्नुपर्ने उनीहरुको सुझाव थियो ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले वडा नं २ नाग्रेगगर्चेको दुतीमा रहेको पहिरो बर्सेनि चलिरहेका कारण त्यसबाट विपद्को समस्या भोगिरहनुपरेको अवस्था रहेकाले त्यसको न्यूनीकरण गर्न सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरे । उनले चट्याङको समस्या चौरीदेउराली गाउँपालिकामा पनि रहेको भन्दै त्यसका लागि आवश्यक अध्ययन अनुसन्धान गर्ने व्यवस्थातर्फ ध्यान दिन आग्रह गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले समस्या पर्दा आतिने र कम हुँदै जाँदा बिर्सने संस्कारले गर्दा झन समस्या निम्तिने गरेको बताए । हरेक विपद्को व्यवस्थापनका लागि पूर्वतयारीको काममा बेलैमा सचेत भएर सोच्न र त्यहीअनुसारको तयारी गर्न पालिका र विपद् व्यवस्थापन समितिले योजना बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् पूर्वतयारी, विपद् पुनःस्थापना, विपद् प्रतिकार्य र सामाजिक पुनःस्थापना तथा अनुकूलनका कार्य सञ्चालन गर्नका लागि आवश्यकताअनुसार पालिकाको समन्वयमा काम गर्न आग्रह गरे । दमकल परिचालनका गर्नका लागि जनशक्ति व्यवस्थापन र परिचालन गर्न आर्थिक व्यवस्थापन समस्या हुने भएकाले त्यसमा नजिकका पालिकाबीचमा समन्वय र सहकार्य गरेर काम गर्न उनले सुझाव दिए ।