समाचार

निर्वाचन लोकतन्त्रको जीवन पद्धति : प्रमुख आयुक्त थपलिया

३१ साउन, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समिति (रासस) ले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरे ।

“विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैङ्कका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन ।” राससका व्यवस्थापक, सम्पादक र समाचारदाता सहभागी कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियाँलेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो । देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाइँहरु लाग्नुहोला ।”

स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वतः अन्त्य हुनाका साथै  संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । 

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका प्रमुख आयुक्त थपलियाले भने, “जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो । यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो । मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ ।”

आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदानस्थल तथा केन्द्रहरुको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उनले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए । 
प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ/छैन भन्ने आँकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पारे । 

स्थानीय निर्वाचनका समयमा केही समाचारका उदाहरण प्रस्तुत गर्दै उनले अपुष्ट तथ्याङ्क वा सुनेका भरमा मनमा बुनेर समाचार लेखिनु गलत भएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्दै निर्वाचनका लागि सबै दल र उम्मेदवारलाई बराबर स्थान दिने सिद्धान्त दिइनुपर्ने पनि बताए । राससकर्मी र पत्रकारहरु दलीय राजनीतिक आबद्धता हुन नहुने र त्यस प्रकारको सङ्केत हुने खालका समाचार पनि दिन नहुने प्रमुख आयुक्त थपलियाले स्मरण गराए ।

अभिमुखीकरणको पहिलो सत्रमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचन जनाधिकारलाई संस्थागत गर्ने महोत्सव भएको र  निर्वाचन निरन्तर चलिरहने चक्र भएकाले यसबीचका सूचनालाई जति व्यवस्थित र पहुँचयोग्य बनाउन सक्यो त्यति नै निर्वाचनको सफलता तथा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने बताए ।

निर्वाचनका समाचारलाई सन्तुलनसहित प्राथमिकता दिने सवालमा प्रमुख आयुक्तका भनाइलाई राससले निर्देशनका रुपमा पालना गर्ने उल्लेख गर्दै उनले सबै निर्वाचन क्षेत्र (१६५)मा राससका प्रतिनिधिले निर्वाचनबारेको पहिलो समाचार दिने गरी प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष झाले राससका प्रदेश र जिल्ला समाचारदातालाई निर्वाचनबारे तालिम दिइने र जिम्मेवारी आएमा अन्य सञ्चारमाध्यमका पत्रकारलाई पनि तालिम दिन राससले अगुवाइ गर्ने बताए । उनले निर्वाचन बुलेटिनको संयोजनका साथै निर्वाचनसम्बन्धी अनुसन्धानका क्षेत्रमा पनि काम गर्न सक्ने भएकाले आयोगले रासससको प्राविधिक क्षमता विकासका लागि सहकार्य बढाउन आग्रह गरे ।

राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनका समाचार सम्प्रेषणलाई अझ प्रभावकारी बनाउन तथा राससको उपस्थिति थप सशक्त बनाउन के गर्नुपर्छ भन्ने सन्दर्भमा अभिमुखीकरणको आयोजना सुरु गरिएको जानकारी दिए । अभिमुखीकरणको सहजीकरण राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानले गरेका थिए ।  अभिमुखीकरणको दोस्रो सत्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, अध्यक्ष झा, महाप्रबन्धक राई, नायब महाप्रबन्धकहरु राजु शाक्य, श्यामप्रसाद रिमाल, प्रधान सम्पादक एकराज पठाक, वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेतले  निर्वाचनका विविध विषयमा प्रस्तुति दिनेछन ।