समाचार

वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँ : वनमन्त्री यादव

३१ साउन, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उनले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याइने खालका काम र योजना अघि सारिने बताए । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो ।

 यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिए।

कार्यक्रममा उनले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका कर्मचारीसँग उनीहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताए । 

यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको  वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गरेका छन् ।

मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरु पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो ।