खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थलको चाँडै टुङ्गो लाग्ने

२ भाद्र, कास्की । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ ।

प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्(राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षण काम अहिले भइरहेको हो ।

राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ ।

खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि पोखरामा हुन लागेको प्रतियोगिताले प्रदेशवासीमा उत्साह देखिएको बताए । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय आगामी भदौ १५ भित्र टुङ्गो लाग्ने बताए ।

उनले भने, “प्रदेशका अधिकांश जिल्लामा रहेका खेल पूर्वाधारको निरीक्षण गरेका छौँ । खेल सञ्चालनका लागि आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।” खेलस्थल व्यवस्थापन उपसमितिले सरकारीबाहेक निजी सङ्घ संस्थाबाट निर्मित खेल पूर्वाधारलाई समेत प्रतियोगिताका लागि उपयोग गर्ने योजना बनाएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ । राष्ट्रिय खेलकुदको अपनत्व सबै जिल्लामा गराउन कम्तीमा एक खेल सञ्चालनको योजनाअनुसार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले यसअघिनै राखेपमा खेल र खेलस्थल प्रस्ताव गरेको पठाएको थियो । यसको अन्तिम निर्णय राखेपले गर्नेछ ।

प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् ।

यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ ।

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराँते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने प्रश्ताव यसअघिनै पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । 

बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । प्रदर्शनी खेल लोकदोहोरी पोखरामा गर्ने योजना छ ।