२ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका लागि बागमती सरकार सदैव साथमा रहेको बताए ।
चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफुले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीहरुलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुकलालगायतका कुराले अर्बौं रुपियाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवद्धन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए । यस्तै घरेलु सामानको प्रवद्धनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उनले महासंघलाई पनि हातमा हात राखेर हिंड्न आग्रह गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए ।
महासंघको पालिकादेखि केन्द्रिय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरुको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न आग्रह गरे ।
लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवद्धनबाट अर्थतन्त्रलाई पनि समृद्ध बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनले बताए ।
महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले वास्तवमा समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारको जरुरी रहेको बताए ।
प्रदेश आफनै भौगोलिक दायरामा रहेको भन्दै त्यसका केही सकारात्मक सम्भावनाका अवसरहरु त्यहाँ रहेको उनले भने, “हामीले औद्योगिक व्यवसाय वृद्धिको विकासका रुपमा खासगरी रोजगारी प्रवद्धनका सन्दर्भमा काम गर्ने कुरा गर्दा संविधानत केन्द्रिय सरकारले साना तथा घरेलु उद्योगलाई तल पठाइसकेको छ । यसको प्रवद्धन, नियमन र प्रशासनको विषय पनि तल पठाइसकेको छ अझ संविधानले त पालिकाले नै साना तथा घरेलु उद्योगलाई हेरोस भनेको छ । तर साना तथा घरेलु उद्योगहरुको प्रवद्धनका सन्दर्भमा पालिकाको भूमिका विगत पाँच वर्षदेखि त्यति प्रभावकारी हुन नसकेको त्यसैले प्रदेश सरकारको जरुरी भएको हो ।”
साना तथा घरेलु उद्योगहरुको प्रवद्धनका लागि प्रदेश सरकारले केही छलाङ मार्ने खालका कार्यक्रम ल्याउन जरुरी भएको भन्दै निवर्तमान अध्यक्ष गिरीले भने, “अहिले साना तथा घरेलु उद्योगका समस्या भनेकै प्रविधि र पूँजीको पहुँच हो । विगत ५० वर्षमा सीप र दक्षताका सवालमा धेरै काम भए जुन पर्यााप्त छन् अहिले साना तथा घरेलु उद्योगीहरु, युवा उद्यमी र महिला उद्यमीहरुको बीचमा आवश्यकताको विषय भनेको प्रविधि र पूँजीको पहुँच भएको छ ।”
कर्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघको महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रीता अवाललगायतले पनि आफ्ना भनाई राखेका थिए ।