२ भाद्र, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी, कमेरोटार, वडा नं ९ मा पर्ने राधेराधे, निकोसेरालगायत बस्तीको बासिन्दाका लागि सङ्गमेश्वर महादेव मन्दिर आस्थाको धरोहर बनेको छ । नेपालका ७७ वटै जिल्लाका मानिसको बसोबास रहदै आएको यस क्षेत्रका बासिन्दालाई महाशिवरात्रि, तीज, एकादशी, अक्षय तृतीया र साउनको सोमबारका साथै दैनिक महादेवको पूजा एवं दर्शनका लागि टाढा शिव मन्दिर धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।
केही वर्ष अगाडिसम्म पातलो बस्ती र मानिसको चहलपहल निकै कम हुँदा त्यहाँ मन्दिर थिएन । त्यहाँका बासिन्दा शिवको पूजा गर्न भीड छिचोल्दै पशुपति नै जाने गर्दथे तर अहिले समय बदलिएको छ । राधेराधे, बाक्लो घनाबस्ती विस्तार र भाटभटेनी क्षेत्रले दोस्रो ठमेलको पहिचान गराउनाका साथै सङ्गमेश्वर महादेव मन्दिर पनि यहाँका सबैको धार्मिक गन्तव्य बन्न थालेको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रै सडकमै जोडिएको खाली सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती एडम्स थिमिले पहल गरेपछि मन्दिरको निर्माणकार्य अगाडि बढ्यो । एडम्स थिमिका नारायण घिमिरेको नेतृत्वमा मन्दिर स्थापना अगाडि बढेको सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवीर सिंह प्रधानले बताए ।
उनले भने, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ मा महायज्ञ लगायौँ, २ नं क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु पाँच लाख दिनुभयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु १८ लाख दियो, महायज्ञबाट करिब रु ४१ लाख जोगायौँ, स्थानीय दाताबाट धेरै रकम सङ्कलन भयो, यसपछि मन्दिर सत्तललगायत संरचना निर्माणलाई पूर्णता दिने कार्य सुरु भयो ।”
पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल बनाइयो, सुरुमा एक तलाको बनाउने भनिए पनि आवश्यकता अनुसार अहिले तीन तला बनेको छ । शिवको आकर्षक मन्दिर निर्माण भएको छ ।
अध्यक्ष प्रधानले भने, “कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै सङ्गम कोलोनीमा सङ्गमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर निर्माणका क्रममा रु एक करोड ५० लाखभन्दा बढी खर्च भएको छ ।”
मन्दिरमा तामा र पित्तलको छानो हालियो, परम्परागत शैलीमा निर्माण भएको सत्तलमा काठको आकर्षक झ्याल हालियो । मन्दिरको पर्खालमा फलामको बार र ढोका हालेर सुरक्षित गर्ने तथा मन्दिरभित्र अन्य साना संरचना निर्माण गर्ने काम गरियो । मन्दिर निर्माणका अझै केही योजना सम्पन्न गर्न बाँकी छ । स्थानीय दाता, निर्माण समिति, संस्थाका सदस्यहरुलगायत स्थानीयवासीबाट सङ्कलन भएको रकमले मन्दिर निर्माण अगाडि बढाउँदै अधिकांश संरचनालाई पूर्णता दिएको उनले बताए ।
“गरे के हुदैन र रु भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेको सङ्गम कोलोनीवासी परशुराम कार्की बताउनुहुन्छ। यो मन्दिर निर्माण भएसँगै अहिले यहाँका बासिन्दालाई धार्मिक कार्य गर्न निकै सहज भएको छ ।
उनले भने, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिस यहाँ बस्ने भएकाले बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ साउनको सोमबार, महाशिवरात्रि, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशीलगायत विभिन्न तिथि एवं पर्वमा अचेल मेला नै लाग्ने गरेको छ ।”
यस मन्दिरमा सङ्गम कोलोनीका मात्रै हैन सडकपारी, राधेराधेका बस्ती, निकोसेरा, चाँगुनारायण नपा दुवाकोटसम्मका बासिन्दा पूजा, दर्शन तथा अन्य धार्मिक कार्य गर्न आउने भएकाले सबैको आस्थाको धरोहर बनेको स्थानीयवासी कार्कीले बताए । संस्थाले मन्दिरमा मूल गुरु लोकप्रसाद भण्डारीलाई राखेको छ भने मन्दिरको रेखदेख गर्ने, सरसफाइ र दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी टीकाराम घिमिरेलाई राखेको छ ।
संस्थाका अध्यक्ष प्रधान यस मन्दिरमा अचेल हरेक सोमबार साँझ ६ बजेदेखि भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको जानकारी दिए । सोमबारको विशेष आरतीको चाहना राख्ने धेरै भएपछि आरतीका लागि पालो कुर्नुपर्ने उनको भनाइ छ ।
मन्दिरको आयोजनामा सामूहिक व्रतबन्ध, सामूहिक गुन्यू चोलो, ईही (बेलविवाह) को आयोजना गर्ने, मन्दिरका बाँकी संरचना पूरा गर्ने तयारीमा संस्था लागेको उनले बताए । मन्दिरमा मात्रै होइन देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका सङ्गम कोलोनीका बासिन्दाबीच एकता र ममता पनि उत्तिकै छ ।
तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता छ । यहाँका बासिन्दाबीचको एकताले एकलाई केही पर्दा सबै कोलोनीका बासिन्दाले सहयोग गर्छन् । एकको जातलाई अर्कोले, एकको धर्म, संस्कृतिलाई अर्कोले सम्मान गर्दै एकताको पहिचानलाई उचो रुपमा कायम राख्न सङ्गम कोलोनी सफल भएको छ ।