लुम्बिनी

सहाराविहीनको सहारा बन्दै वृद्धाश्रम

६ भाद्र, देउखुरी । तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छ : ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम । मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगे झैँ लाग्छ । थरीथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् ।

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् । नौ महिला र नौ पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् ।

प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन् । अहिले उनको शरीर कमजोर भएको छ । श्रीमान् हुँदासम्म कुनै कुराको समस्या थिएन । श्रीमान्को कमाइबाट घर चलेको थियो । श्रीमान्को मृत्युपछि पनि उनलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर शरीरमा भएको तागत घट्दै गयो । घरको आँगन बिरानो हुन थाल्यो ।

एक्लो भएपछि गाउँलेको सहायताबाट वृद्धाश्रममा आएको उनको भनाइ छ । “यहाँ आफ्नै उमेरका साथी भेटिएका छन् । कुराकानी गर्ने, मन भुलाउने बाटो भएकाले खुसी छु”, उनले भने ।

घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आएका छन् । खुट्टाको समस्याले उनी बैसाखीको सहाराले भित्र बाहिर गर्छन्। उनका आँखामा मोतीबिन्दु भएको थियो । गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उनको भनाइ छ । उनले भने, “छोराछोरी छैनन् । श्रीमतीको मृत्यु भयो । काम गर्न सक्ने हुँदासम्म घरमा एक्लै गाईबाख्रा पालेर बसियो ।” उनले काम गर्न नसकेर थला पर्ने अवस्था आएपछि घरमा भएका गाईवस्तु पनि बिक्री गरे । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरिदिन आग्रह गरेर आश्रय लिन आएको उनले बताए । उनका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।

रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्छन् । उनी बस्न थालेको डेढवर्ष भयो । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चार जना मरे । एक छोरी मात्र बाँचिन् । श्रीमान्को मृत्यु भयो भन्छन्, “धनसम्पत्ति खासै थिएन । दुःखसुख गरेर छोरी हुर्काएँ । ठूली भएपछि रोल्पाकै गाउँमा बिहे गरिदिएँ ।” अहिले छोरीले सोधखोज नगरेको उनको भनाइ छ ।

“भन्छन् नि, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भने झैँ भयो,” आँखाभरिका आँसु पुछ्दै रामकलीले भने, “अहिलेसम्म ठूलो रोग केही लागेको छैन । कहिलेकाहीँ ग्यास्ट्रिकले सताउँछ ।” तैपनि उहाँलाई आश्रमको बसाइँ राम्रो भएको छ । भने, “आफूजस्तै दिदीबहिनीसँग कुराकानी गर्न पाइएको छ । शान्त वातावरणमा बस्ने व्यवस्था छ । मन भुलेको छ ।”

ज्येष्ठ नागरिक सरोकार केन्द्रका सचिव हीरा शाहका अनुसार ६० जना दाताको सहयोगमा अक्षय कोष स्थापना भएको छ । दाताले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म दिएको शाहले बताउनुभयो ।

शाहले भने, “ प्यूठान, रोल्पा र सल्यानबाट सहाराविहीन ज्येष्ठ नागरिक आउनुभएको छ । जुम्लाबाट पनि एक जना पुरुष आउनुभएको थियो । २०७८ चैत महिनामा बित्नुभयो ।” घोराही उपमहानगरपालिका– १५ का मधुसुदन र मोनिका जोशीले पितामाता कोमानन्द र गिराको स्मृतिमा एक लाख एघार हजार एक सय ११ रूपैयाँको अक्षय कोष स्थापना गरेका केन्द्रका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिए । सम्बन्धित वडा कार्यालयको सिफारिसमा आश्रममा राख्ने गरेको शाहले बताए । “पहिलो प्राथिमकता असहायलाई दिने गरेका छौँ ।” घोराहीका समाजसेवी खगराज लोहनीले तीन बिघा जमिन दान गरेर ज्येष्ठ नागरिक सरोकार केन्द्र स्थापना गरेका छन्।

केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताए । वृद्धवृद्धाको खानपानमा मासिक रु ५० हजार खर्च भइरहेको छ । आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पु¥याएर आश्रममा आश्रय दिने गरिएको छ । धेरैजसोले आफैँ खाना खाने र सरसफाइ गर्छन् । एक जना अशक्तले आफ्नो काम आफैँ गर्न सक्दैनन्। उनको स्याहार गर्नुपर्छ । पक्षघात भएका दुई र बाथका रोगी एक जना छन् ।

घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्मी पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ । “जतिसुकै सुखसुविधा भए पनि जिन्दगी केही होइन रहेछ । जे आफूसँग छ, त्यसैमा सन्तोष हुनुपर्ने रहेछ । विलासिता भन्दा आवश्यकतामा जानुपर्ने रहेछ”, उनले भने ।

उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्माले बताए । उनका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।

पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् ।