गण्डकी प्रदेश

बाटोमा भेटिएको रु एक लाख ७३ हजार फिर्ता

१४ भदौ, दमौली । धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए ।

चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास–१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।

झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिए। उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका–१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारेका थिए । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उनलाई विशेष धन्यवाद छ”, उनले भने, “हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।”