समाचार

‘शुभप्रभात काव्यगोष्ठी’ मा परिवर्तनका स्वर

१८ भदौ, काठमाडौँ । स्रष्टाहरूले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको अग्रगामी परिवर्तनको आवाज सिर्जनामार्फत उठाएका छन् । नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक शृङ्खला ‘शुभप्रभात काव्यगोष्ठी’ का सहभागी स्रष्टाहरूले आज समाजमा व्याप्त विकृति, विसङ्गति, अनियमितता, रोग, भोक, अशिक्षा र सामन्ती संस्कृतिलाई हटाएर सम्मुन्नत समाजका लागि आ–आफ्ना रचनामार्फत दबाब दिएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य प्राज्ञ डा देवी नेपालले नागार्जुन सक्रिय भएमा मुलुकमा समस्या छ र परिवर्तन हुन लाग्यो भन्ने सन्देश प्रवाह हुने उल्लेख गर्दै साहित्य कोरा कल्पना मात्र नभई वैचारिकता पनि भएकाले स्रष्टा जनपक्षधरताका लागि कलम चलाउनुपर्ने बताए । नागार्जुनका अध्यक्ष दिल पौडेलले संस्थालाई विगतको ऐतिहासिकता र वर्तमानको आवश्यकताका आधारमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डा देवी नेपाल, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, रामदेव पाण्डे, शिवहरि पाण्डे, गङ्गा खतिवडा, दिनविनोद खड्का, लक्ष्मण पाण्डे, पुरुषोत्तम ‘रसुवा’, अङ्कति चुँदालीलगायतले कविता, गीत, गजल र हाइकु वाचन गरेका थिए । सो प्रतिष्ठानले लोकतान्त्रिक जनआन्दोलनका समयमा सडकमा कविता वाचन र लोकतान्त्रिक स्रष्टाको संयोजन गरेको थियो ।