१९ भदौ, भेरीगङ्गा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पार्टीको कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेलको नाम कर्णाली प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उनलाई सुर्खेत क्षेत्र नं २ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको हो ।
कँडेल यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नं १ ‘ख’बाट प्रदेशसभा सदस्यमा पूर्व भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्क खत्रीलाई सिफारिस गरेको छ । उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ झकबहादुर मल्ल र समानुपातिकतर्फ पुष्पा घर्ती विष्टलाई सिफारिस गरेको छ । पार्टीको आज सम्पन्न बैठकले दुवैजनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यस्तै पार्टीको कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसीलाई क्षेत्र नं १ ‘ख’बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।
–