गण्डकी प्रदेश

विकट नार्पाभूमिमा निःशुल्क स्वास्थ्य शिविर

२२ भाद्र, मनाङ । मनाङ भौगोलिकरूपमा नै विकट क्षेत्र नार्पाभूमि क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

हालसम्म सडक सञ्जालको पहुँचसमेत पुग्न नसकेको नार्पाभूमि क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न पाँच दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

त्यस क्षेत्रका स्थानीयलाई आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथै नागरिक र नेपाली सेनाबीचको सहयोग र सहकार्यलाई सुमधुर बनाउन शिविर सञ्चालन गरिएको इन्द्र दल गुल्म मनाङका गुल्मपति मेजर दिनेश मल्लले जानकारी दिए । उनका अनुसार भौगोलिक विकटतामा बसोबास गर्दै आएका महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनसमेत शिविर उपलब्धिमूलक हुने छ ।

नार्पाभूमि गाउँपालिका–१ को नार, वडा नं ३ को च्याखु, वडा नं ५ को फुगाउँमा शिविर सञ्चालन गरिएको उनले जानकारी दिए। इन्द्र दल गुल्म मध्य कमाण्ड अस्पताल पोखरा, स्वास्थ्य कार्यालय मनाङ, नार्पाभूमि गाउँपालिका कार्यपालिका, जिल्ला अस्पताल मनाङ, श्री ३ नं फिल्ड एम्बुलेन्स तनहुँ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला सामुदायिक आँखा केन्द्रको साझेदारी तथा समन्वयमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । शिविरमार्फत स्थानीयवासीलाई विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने लक्ष्यसमेत रहेको मेजर मल्लले बताए ।
गुल्मका गुल्मपति मेजर मल्लसहित श्री ३ नं फिल्ड एम्बुलेन्स तनहुँका चिकित्सक अधिकृत २८ जना र जिल्लाका सम्बन्धित सरोकार निकायबाट नौ जना गरी ३७ चिकित्सक, फर्मासिस्ट, नेत्ररोग विशेषज्ञ टोलीले स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

शिविरमा स्त्रीरोग, बाथरोग, आँखा, छाला, बहिरङ्ग सेवा, प्रयोगशाला सेवा प्रदान गरी चिकित्सक परामर्शसहित उपचार सेवा पु¥याउने उनले बताए। यो क्षेत्र चीनको तिब्बत नाकासँग जोडिएकाले यहाँ बाह्रैमास हिमपात हुने गर्दछ । जनचेतनाको अभावमा यस क्षेत्रका स्थानीयवासीले औषधिको रुपमा प्रायः जडीबुटी मात्रै उपभोग गर्ने भएकाले शिविरले जनचेतना फैलाउनसमेत उपयोगी हुने बताए ।