२२ भाद्र, सिन्धुपाल्चोक । मानिसको व्यस्त जीवनशैलीले परिवारका ज्येष्ठ नागरिकको उचित व्यवस्थापन हुन नसक्दा समाजमा एक्लो हुनुका साथै अधिकारबाट समेत बञ्चित हुन पुगेका छन् ।
नेपालमा ज्येष्ठ नागरिकको अधिकार र कल्याणका लागि कानुनीरूपमा थुप्रै व्यवस्था गरिएका छन् । नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी स्पष्ट उल्लेख गरिएको छ । तर, राज्यले बनाएका नियम कार्यान्वय नभएकोप्रति मेलम्ची–१० का ज्येष्ठ नागरिक टोमशङ्खर दुलाल चिन्ता व्यक्त गर्छन् । उनले कानुन बनाएर मात्र नहुने भन्दै कार्यान्वयनमा जोड दिए ।
ज्येष्ठ नागरिकसम्वन्धी ऐनमा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारवाही हुने, आफ्नो सम्पत्ति आफूखुसी गर्न पाउने, नागरिकलाई भिक्षा माग्न लगाउन नहुने, सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई छुट दिनेजस्ता प्रावधान छन् । तर, व्यवहारमा भने लागू नभएको मेलम्ची–१२ का मोहन ढकालले बताए ।
उनले ज्येष्ठ नागरिकका लागि भवन, भजनर्कीतन गर्ने ठाउँको व्यवस्था गरिदिनुपर्ने बताए । हेलम्बुका गीता तामाङ घरपरिवारमा ज्येष्ठ नागरिकलाई धेरै हेला हुने गरेको भन्दै हेलागर्नेलाई कडा कानुन बनाएर कारवाही हुनुपर्ने बताउछन्।
मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकका लागि सहजरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, स्वास्थ्यमा सुविधा दिने, ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिक सञ्जालनै बनाएर नीति र कार्ययोजना निर्माण गर्नेजस्ता काम गरेको छ । अघिल्लो सरकारको कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझै प्रभावकारी काम गर्ने मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले बताए ।