बाग्मती

गैरसरकारी सङ्घसंस्थाले सूचना लुकाएको आरोप

१ असोज, सिन्धुली । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गैरसरकारी सङ्घसंस्थामा आर्थिक पादर्शीता नभएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा उनले उक्त बताएका छन् । सेवामूलक संस्थाका सञ्चालक नाफामुखी भएका उहाँको भनाइ थियो । “गैरसरकारी सङ्घसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले भने ।

गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले कीर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने सङ्घसंस्थालाई राज्यले कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

 राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी सङ्घसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै सङ्घसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै  सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने बताए ।

उक्त आयोगका आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताको सहभागिता थियो ।