गण्डकी प्रदेश

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

१ असोज, तनहुँ । नयाँ घर बनेपछि खुसीले गद्गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली ।

छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त भएका छन्।

‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइदिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मनाउन पाउँदा खुसी लागेको नेपालीले बताए । नयाँ घरमा बस्न पाइँँदैन कि भन्ने सपना पूरा भएको उनको भनाइ छ ।

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ सुरक्षित घर बनाएपछि गरिब तथा विपन्न घरपरिवारमा खुसी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुसी छन् । जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्यले बताए । घर निर्माणपछि दुई सय ११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दसैँसम्ममा सर्ने तयारीमा रहेको उक्त कार्यालयलले जनाएको छ ।

आव २०७५/७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि उक्त कार्यालयमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको देवघाट गाउपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दसैँ मनाउन पाउने भएपछि खुसी लागेको बताए । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उनको भनाइ छ। निर्माण गरिएका घरमध्ये दुई सय ११ ले पूरै किस्ता लगेका र ७५ ले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्र जानकारी दिए ।

रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन भएकामा आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले रु तीन लाख ३२ हजार पाँच सय उपलब्ध गराएको थियो । सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इञ्जिनियर दिनेशकुमार घिमिरेले बताए ।

जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उनको भनाइ छ ।