बाग्मती

बाह्र सय लालपुर्जाविहीन : छानविनमा सकस, छुट्टै नीतिको माग

१ असोज, काभ्रेपलाञ्चोक । छयालिस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएको छ ।

लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको जनाइएको हो ।

गाउँपालिका–७ र ८ नं वडामा करिब एक हजार दुई सय परिवारको जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको छ । भुम्लुका दुई वडाको लगत छानविनमा तीव्रता दिँदै आएको भए तापनि जग्गाधनी यकिन गर्न नसक्दा निकै सकस भइरहेको कार्यालयका प्रमुख नवीनकुमार अधिकारीले बताए । उनका अनुसार अब यहाँको समस्या मालपोत र नापी कार्यालयले मात्रै समाधान गर्न असमर्थ देखिएको छ ।

टोलीले स्थलगतरुपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरकफरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । “मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरकफरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भयो”, उनले भने ।

भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताए । उनका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ । भुजेलले भने, “मन्त्रालयले नै छुट्टै नीति नबनाएसम्म भुम्लुको समस्या समाधान हुने देखिँदैन ।”

रसिदका आधारमा किनबेच हुँदा पछिल्ला केही वर्षदेखि जग्गाधनीको सङ्ख्यासमेत बढ्दै गएको छ । दुवै वडामा विसं २०७६ पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो । ती कार्यालय हाल कर्मचारीविहीन अवस्थामा रहेका छन् । जग्गा विवाद छानविन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले पटकपटक मालपोत र नापी कार्यालयको टोली पुनःगत चैतमा फिल्ड पठाइएको थियो ।

हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पूर्जा बन्ने बेला बिक्री भई अर्काका नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खटेका नापी अधिकृत लवप्रसाद कुईंकेलले बताए । उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन ।     

फिल्डमा खटेको मालपोत र नापी कार्यालयको टोली पटकपटक फिल्ड जाँदै फर्कंदै गर्ने र लगतमा जटिलता देखिए पनि ४६ वर्षदेखि लालपुर्जाको पर्खाईमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनःनिरासा छाएको छ । लालपुर्जा वितरणमा थप अन्योलता थपिँदै आएको छ ।

वि.सं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पीपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जाप्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए ।

करिब तीन सय धग्गाधनीको लालपुर्जा तयार भइसकेको मालपोत कार्यालयले जनाएको छ । “छानविन गरी जग्गाधनीका नाममा पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गम्भीररुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ”, मालपोत प्रमुख अधिकारीले भने ।

नापी कार्यालयले भने मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ । हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्योल गरी प्रक्रिया थाल्नुपर्ने जनाइएको छ ।