समाचार

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित

६ असोज, काठमाण्डौ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् ।

संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडीले बताए। “राष्ट्रपति महोदयलाई मेरो आग्रह छ, संविधानले दिएको भूमिका निर्वाह गर्नुस्”–उनले भने ।

संविधानविपरीतको यो कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि पहाडीले जोड दिए । लोकतन्त्र र संविधान मुख्य कुरा हो अरु गौण कुरा भएको उल्लेख गर्दै उनले दुवैका विरुद्ध राष्ट्रपति प्रयोग हुनु दुःखद रहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा कपिल श्रेष्ठले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नहुँदा संविधानको मर्ममा असर पर्ने तर्क गरे ।