कर्णाली प्रदेश

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

७ असोज, मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीवारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति केजीमा रु सात छुटमा बिक्री भइरहेको छ । कार्यालय प्रमुख भामकाअनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।

सुपथ मूल्य पसलबाट मुगुका छायाँनाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी भेगको गाउँपालिकाकाका स्थानीयबासीलाई लक्षित गरिएको छ । 

मुगुका स्थानीयले सरकारलाई मुगु जिल्लाको डिपो केन्द्रमा खाद्यान्न कहिले आउँछ भन्दै प्रश्न गरेका छन् ।

विगतबाट यस क्षेत्रका मुगु जिल्ला हेपिँदै आएको, हाल पनि समस्या उस्तै रहेको र तत्काल सुधार गर्नुपर्ने भन्दै गुनासो गरेका हुन् । 

कर्णालीका अन्य जिल्लाभन्दा मुगु जिल्ला सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । यस्तै समस्या मुगु जिल्लाको एक डिपो केन्द्रमा नसुल्झिँदा मुगुमकार्मारोग गाउँपालिकाको पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्न सकेको छैन । पुलु डिपो केन्द्रको लागि ठेक्का प्रक्रिया नभएको र यसको केही दिनमै ठेक्का प्रक्रिया सुरु हुने खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन् ।