लुम्बिनी

दुई वर्षदेखि रोकिएको रामलीला आजदेखि सुरु हुँदै

१० असोज, नेपालगञ्ज । विगत दुई वर्षदेखि नेपालगञ्जमा रोकिएको रामलीला आजदेखि सुरु हुने भएको छ ।

प्रत्येक वर्ष दसैँको नवरात्रीमा नेपालगञ्जको रामलीला मैदानमा हुने रामलीलाको एक सय ५४ औँ संस्करण भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष तथा रामलीला सञ्चालक समितिका सदस्य नन्दलाल वैश्यले जानकारी दिए। 

पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला सञ्चालक समितिले १५३औँ वर्षमा पहिलोपटक स्थगित गरेको हो । १५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई कोरोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरी मनाइने गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ बाँकेगाउँस्थित रामलीला मैदानमा हुने उक्त रामलीलामा भगवान श्रीरामको जन्म, श्रीरामको बाल जीवन, श्रीरामसँग देवी सीताको विवाह, धनुष युद्धलगायतका विभिन्न विधाका नाटक नवदुर्गाभर नौ दिन मञ्चन गरिने रामलीला सञ्चालक समितिका सदस्य वैश्यले बताए । 

“यसबाट नागरिक कर्तव्य, पत्नी कर्तव्य र वास्तविक मर्यादाको परिभाषा पनि स्पष्ट हुन्छ”, उनले भने। असत्यमाथि सत्यको विजयकारुपमा लिइएको रामलीलाको सो नाटकपछि दसैँको दिन रावणको बध गरेकोसमेत प्रदर्शन गरिनेछ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आइपुगेको छ ।

मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीयरूपमा प्रस्तुत गर्ने बताइएको छ । रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् दसैँको रातिसम्म चल्ने आयोजकले जनाएका छन् । 

रामलीला मञ्चनका लागि मञ्च व्यवस्थापनलगायत सबै तयारी पूरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले जानकारी दिए ।