सुदूरपश्चिम

वनगाउँ बजारमा नेपाली ग्राहकको भीड

१० असोज, सुदुरपश्चिम । बडादसैँ सुरु भएसँगै सीमावर्ती भारतको वनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ ।

धनगढी अत्तरियालगायतका बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ता कपडाको मूल्यभन्दा सुपथ मूल्यमा सामान पाइने विश्वासमा वनगाउँ बजार पुगेर समान खरिद गर्नुपरेको उपभोक्ताले बताएका छन् । 

धनगढीमा खानेतेल, चिनीलगायत उपभोग्य सामानको मूल्य चर्को हुने गरेपछि आफू उपभोग्य सामान किनमेलका लागि गौरीफन्टा पुगेको कैलाली भन्सारमा भेटिएकी धनगढीकी सावित्रा अवस्थीले बताए।

   वनगाउँ बजार जाने ग्राहकमध्ये ९० प्रतिशत ग्राहक नेपाली नै हुने गरेको स्थानीय व्यापारीको भनाइ छ । सामान किनमेल गरेर फर्किने नेपालीलाई भारतीय भन्सारका कर्मचारीले सीमामा झोला खानतलासी गरी बेलाबखत दुःख दिने गरेको गुनासो उपभोक्ताले बताउने गरेका छन् । 

चाडबाडका समयमा भने झोला खानतलासीको व्यवहार त्यति नहुने गरेको अनुभव सामान किनमेल गरेर फर्किंदै गरेका कैलालीका सन्तोष भट्टले सुनाए । वनगाउँमा हिजो आज दैनिक पाँच सयभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको बताइएको छ ।

धनगढीदेखि झण्डै चार किलोमिटरको दूरीमा रहेको गौरीफन्टा बजार दशकौँदेखि वन क्षेत्रमा रहेको थियो । भारतको वन विभागले वन क्षेत्रको जग्गा खाली गराउन सूचना गरेपछि विस्तार भएको गौरीफन्टा बजार झण्डै एक दशकअघि हटेको थियो । बजार हटेपछि नजिकैको वनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले व्यापारिक कारोबार सुरु गरेका हुन् ।

   वनगाउँमा नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरियालगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । भारतीय बजार भएर पनि वनगाउँमा नेपाली रुपैयाँमा कारोबार हुने गरेकाले नेपाली ग्राहकलाई भारु सटही गर्नुपर्ने अवस्था हुँदैन । कोरोनाको समस्यापछि धनगढी अत्तरियालगायत नेपाली बजारको कारोबार बढ्न नसकेको धनगढीका व्यापारी मनोजले बताए। उनले भने, “कोरोनाको समयदेखि व्यापार बट्टामा मन्दी नै छ, कारोबार बढ्न नसक्दा घरभाडा बुझाउन मुस्किल भइरहेको छ ।”