खेलकुद

नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी

१४ असोज, डडेल्धुरा । गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै यहाँका १३ खेलाडी प्रतिस्पर्धा गर्न छनोट भएका हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराले १४ खेलमा सहभागिता जनाउने तयारी गरेका भए पनि १३ खेलाडी पाँच खेलका लागि छनोट भएका हुन् ।

भलिबल, ह्यान्डबल, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प र दौड प्रतियोगितामा डडेल्धुराका खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरसिंह भण्डारीले जानकारी दिए । कैलाली र कञ्चनपुरका खेलमैदान तथा रङ्गशालामा भएका प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका प्रमुख भण्डारीले बताए।

छनोट हुनेमा सुदूरपश्चिम प्रदेशको राष्ट्रिय टोलीमा भलिबलतर्फ डडेल्धुराका सन्तोष खत्री र वीरेन्द्र विक, ह्यान्डबलमा विशाल बस्नेत, तेक्वान्दोमा झरना थापा, उसुमा नवीन गाहामगर, अस्मिता गाहामगर, रोहित गहामगर, सृजना रखालमगर र ललिता गुरुङ छनोट भएका खेलकुद विकास समितिले जनाएको छ ।

यसैगरी एथलेटिक्सतर्फ हाइजम्पमा मनोज विष्ट र आठ सय मिटर दौडमा माया साउद, छपेन्द्र नाथ र करुणा ऐडी छनोट भएको जिल्ला खेलकुद विकास समतिले जानकारी दिएको छ ।