गण्डकी प्रदेश

सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या

१८ असोज, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् ।

खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ ।

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ ।

सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन् ।

सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताए । सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उनले बताए । सोतीले आक्रोश पोख्दै भने, “दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा ।”

उनले दशैँका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गरेका छन् । उनले भने, “नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ ।” पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन् ।

पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ । त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ । धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताए । “दशैँका बेला त झन आफन्तको जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन”, उनले भने, “तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैप¥यो ।”

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी भने दशैँका लागि साना–साना खाल्डा मर्मत गर्ने काम गरिएको बताए । “साना–साना खाल्डामा एक चरणको मर्मत गरेका छौा, काम भइरहेका ठाउँमा भने सडक मर्मत गर्न सकेनौँ”, उनले भने, “ बेला–बेलामा पानी हाल्ने काम पनि भइरहेको छ ।”

दशैँमा सर्वसाधारणलाई केही सहज होस् भन्नका लागि फूलपातीसम्म धेरै ठाउँका खाल्डाखुल्डी मर्मत गरिएको उनले बताए । “ठूला खाल्डा परेका ठाउँमा काम भइरहेका थिए त्यहाँ मर्मत गर्न सकेनौँ”, उनले भने ।

उक्त खण्डमा दशैँका लागि काम रोकिएको छ । कामदार फूलपातीदेखि घर गएकाले काम रोकिएको उनले भने । “दशैँपछि मात्र अब काम सुचारु हुन्छ, कामदार घर गएका छन्”, प्रमुख सुवेदीले भने । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ ।

पूर्वी खण्डअन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३।४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । आर्थिक वर्ष ०७८/७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

वि.सं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।