पर्यटन/संस्कृति

पुनःनिर्माण नहुँदा पुरातात्विक मन्दिर सङ्कटमा

१८ असोज, पर्वत । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको पर्वतको कुश्मा नगरपालिका–१२ स्थित कालीका मन्दिर समयमै जिर्णोद्वार नहुँदा सङ्कटमा परेको छ ।

ठूलीपोखरीको बाटुलेचौरमा रहेको प्राचिन शिव तथा कालीका मन्दिरको मुख्य मन्दिर तथा संरचना संरक्षण र पुर्ननिर्माण नहुँदा सङ्कटमा परेका हुन् । पुरातत्व विभागले पुराना मठ मन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालीका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिको आरोप छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि केही वर्ष पहिला बजेट विनियोजन भए पनि पुरातत्व विभागले काम गर्न नदिँदा समस्या भएको समितिका सचिव विश्व लामिछानेले बताए । मन्त्रालयको आव २०७७/७८ को बजेटबाट रु २० लाख विनियोजन भएको भए पनि पुरातत्व विभागले मन्दिरको पुनःनिर्माण गर्न विभागले नै अनुमति दिनुपर्ने र सो बजेट प्रर्याप्त नभएको भन्दै रोकेपछि काम हुन सकेको छैन ।

एक सय १५ वर्ष पुरानो मन्दिर २०७२ सालको भुकम्पका कारण चर्केको, छाना चुहिने भएको कारण मर्मत गर्नुपर्ने भए पनि कुनै निकायले चासो दिएको पाईँदैन । समयममा मर्मत नगर्दा मुख्य मन्दिरको भित्रि भागमा समस्या रहेकाले पुजा गर्न समेत डर लाग्ने पुजारी देवराज सुवेदीले बताए । “ठूलो पानी परेका बेला पुजा गर्न डर लाग्छ”, उनले भने–“कुन बेला छाना खस्ने हो भन्ने चिन्ता हुन्छ ।”

ऐतिहासिक महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने सो मन्दिर संरक्षणका लागि प्रयाप्त बजेट विनियोजन नहुँदा काम गर्न समस्या हुने गरेको व्यवस्थापन समितिले जनाएको छ । प्राचिन मुर्तिहरु रहेको उक्त मन्दिरमा २०३२ सालमा कालीकाको बहुमुल्य मूर्ती चोरी भएको थियो । सो मूर्ति हालसम्म फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए । मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शंख। घण्टीलगायत सामान र मूर्ति हराएका छन् ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पुजाआजा तथा मन्दिर निर्माण गरिएको किवँदन्ती छ । भृगु ऋषिको तपस्या स्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरीको खतरा छ । संरक्षण अभावमा मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका पुजारी देवराज सुबेदीले बताए ।

स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा करिब दुई सय वर्ष पुराना संरचना छन् । वि.सं १९७० मा पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरे पछि नियमित पुजा हुँदै आएको छ ।