खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण

२ कात्तिक, कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘व्यक्तिगत इभेन्ट’तर्फ विभागीय नेपाली सेनाले दुई र आयोजक गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले ‘मिक्स डबल्स’ र ‘महिला डबल्स’तर्फ स्वर्ण जित्दा गण्डकीले ‘पुरुष डबल्स’मा स्वर्ण जितेको हो ।

महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा रावतको जोडीले बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३, ६–४ को सेटमा पराजित गरी स्वर्ण दिलाए । त्यसैगरी मिक्स डबल्सतर्फ सेनाका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीमाथि ६–४, ६–० सेटको जित निकाल्दै स्वर्ण जित्दा प्रहरीले कास्य पदकमा चित्त बुझायो ।

यसैगरी पुरुष डबल्सतर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते । गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्वितीय वरियतामा छन् । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो ।

निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो । टेनिसमा हालसम्म पाँच स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले तीन र आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । स्वर्ण टुङ्गिन बाँकी दुई विधा पुरुष एकल र महिला एकलको फाइनल बिहीबार बिहान हुने खेल तालिका छ ।