खेलकुद

प्रधानमन्त्री कप : आर्मीको जित

२० कात्तिक, काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो ।

आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनाएको हो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान बिपिन खत्री १९ तथा अर्जुन कुमालले १४ रन बनाए । यता आर्मीको जितमा सुसन भारीले सर्वाधिक ५ विकेट लिए भने कुशल मल्ल र साहब आलमले समान २/२ विकेट लिए । विक्रम सोबले एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रनमा बनाए । विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए ।

गण्डकीका लागि बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिए भने कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमृत गुरुङले समान एक–एक विकेट लिए । उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकी ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।