राजनीति

कांग्रेसभित्रको समस्याका कारण सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की हार्दैछन् चुनाव ?

सुबिन बिश्वकर्मा/२३ कात्तिक, चक्रघट्टी । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै सुनसरीको क्षेत्र नम्बर ४ ले धेरैको नजर खिचेको छ ।

नेपाल सरकारका प्रवक्ता एबम् सूचना, सञ्चार तथा प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन भिड्दै गरेको यस् क्षेत्रको चुनावी माहोल पनि रोचक देखिन्छ ।
एक नम्बर प्रदेशका पूर्व वन, वातावरण तथा पर्यटन उड्डयनमन्त्री समेत रहेका एमालेका उमेदवार जगदीश कुसियैत र सञ्चारमन्त्री कार्कीबीचको भिडन्त हेर्न लायक रहने आंकलन गरिएको छ । निर्वाचन आयोगका अनुसार सुनसरी ४ बाट १२ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् भने राप्रपाबाट बिद्यानन्द यादब, नेमकिपाबाट अर्जुन भट्टराई, लोसपाबाट कुञ्जीलाल यादब, जनमत पार्टीबाट देबराम यादब, जनता प्रगतीशील पार्टीबाट गलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओबादी समाजबादीबाट कुमार राई, नेपालका लागि नेपाली पार्टीबाट डम्बरप्रसाद घिमिरे, राप्रपा नेपालबाट सत्यनारायण राम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट मों सदिक मिया, एकीकृत शक्ती नेपालबाट गोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवन कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । यद्यपि चुनावी प्रतिस्पर्धा भने एमाले र जसपाको गठबन्धनबाट उमेदवार बनेका जगदीशप्रसाद कुसियत र सत्ता गठबन्धन ज्ञानेन्द्रबहादुर कार्कीबीचमै हुने स्थानीयको तर्क छ ।
यसअघि पनि यसैक्षेत्रबाट प्रदेश सांसदमा जितेका कुसियैतले जितेर गएपछि निर्वाचन क्षेत्रमा फर्केर नआएको आरोप छभने मन्त्री कार्कीलाई पार्टीको आन्तरिक अधिवेशनमा वडादेखी केन्द्रसम्म हस्तक्षेप र विपक्षी समुहलाई निषेध गरेको आरोप छ ।

सुनसरी ४ कांग्रेसको समस्या

उसो त ज्ञानेन्द्रबहादुर कार्की सुनसरीका बासिन्दा भने होइनन् । भोजपुरबाट पटकपटक निर्वाचन हारेपछि अघिल्लो निर्वाचनमा सुनसरी ४ झरेका कार्कीले आफ्ना निकटतम् प्रतिद्वन्दी तत्कालीन एमाले बाम गठबन्धनका उमेदवार रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले जितेका थिए । त्यसपछि यसै ठाउँबाट दोस्रोपटकका लागि चुनाव लड्दै गरेका कार्कीले १४ औं महाधिवेशनमा पार्टीभित्र तल्लो वडा तहसम्म हस्तक्षेप गरेको आरोप लाग्ने गर्दछ । त्यसै कारण वडा तहका पुराना कार्यकर्तासमेत मन्त्री कार्कीसँग रुष्ट छन् ।
मन्त्री कार्की पार्टी सभापति शेरबहादुर देउवाका बिशवासपात्र र निकट व्यक्ति मानिन्छन् । यस् क्षेत्रमा गत १४ औं महाधिवेशनमा मन्त्री कार्कीले क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन इतर समूहलाई निषेध गरेको इतर समूहका नेताहरू बताउँछन् ।
सोही बखत पार्टीको आन्तरिक निर्वाचनमा समेत हस्पक्षेप गरेको भन्दै जीवन विष्ट लगायतका नेताहरूले ज्ञानेन्द्रबहादुर कार्की भगाउ अभियान समेत चलाए । कोईराला समूहबाट फरक विचार समूहका संयोजकसमेत रहेका मन्त्री कार्कीको बिरुद्धमा खुलामखुल्ला डिल्लीबहादुर कार्कीले ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी छाडेर भोजपुर नै छोडेर जानका लागि दबाबमुलक आग्रह गरेका थिए । यद्यपि उनी अहिले प्रतिनिधिसभा सांसदका लागि समानुपातिक सूचिमा अटाएपछि उनको मुख बन्द भएको छ । आफूसँग रुष्ट भएका केही नेता तथा कार्यकर्ताहरूको मुख बन्द गराउन सफल भएपनि मन्त्री कार्कीसँग क्षेत्रका धेरै स्थानीय कार्यकर्ताहरू रुष्ट नै छन् । १४ औं महाधिवेशनमा संस्थापन इतर समुहबाट प्रतिनिधित्व गर्ने धेरै नेताहरू अझै रुष्ट छन् भने गत स्थानीयतह र अहिले प्रदेशसभामा टिकट वितरण समानमुखी नभएको भन्दै उनकै पक्षका नेताहरु पनि मन्त्री कार्की बिरुद्धमा बोल्दै हिँड्न थालेका छन् ।

प्रदेशसभा (क) मा आफ्नो नामको टिकट आउनेमा लगभग निश्चित भएका प्रदेशसभा (क)का सभापति उपेन्द्रबहादुर कटुवाल पनि रुष्ट रहेका छन् । कटुवाल भन्छन्, ‘पार्टीको लागि मेहनत गर्नेलाई ईमानदार कार्यकर्तालाई टिकट नदिएर जनमतनै नभएको व्यक्तिलाई टिकट दिइएको छ, त्यसैले म लगायत ईमानदार भएर खट्ने धेरै कार्यकर्तालाई चोट पुगेको छ ।’ उनले सुनसरी ४ कांग्रेसभित्र दुईतीन वटा व्यक्तिको कारणले हिन्दु नेतालाई अघि बढ्न नदिइएको बताउँदै यहाँको सिंगो पार्टीलाई मुस्लिमिकरण गरिइएको भन्ने गम्भीर आरोप समेत लगाए । उनले थपे, ‘टिकट वितरणमा ४० हजार पहाडे समुदायलाई बाइपास गरियो, जसको कारण अहिले जानीजानी पार्टीका दुईतीन जना मान्छेले ज्ञानेन्द्रबहादुर कार्की हराउन लागिपरेका छन् ।’
‘टिकट वितरणमा समस्या भएकै कारण म लगायत केही जिम्मेवारी साथीहरू निष्क्रिय भएर बसेका छन्’ उनले भने। त्यस्तै, १४ औं महाधिवेशनमा प्रतिनिधिसभा ४ मा सभापतिका उमेदवार बनेका ताइर अन्सारी पार्टीभित्र केही असन्तुष्टी र असहमति भएको स्विकार गर्छन् । उनले भनेका छन्, ‘१४ औं महाधिवेशनमा संस्थापन पक्षले इतर समुहलाई बाइपास गरेको हुनाले कार्यकर्ताहरूमा त्यो धङधङी अझै मेटिइएको छैन । व्यक्तिगत रूपमा आफू अस्वस्थ भएकाले पनि चुनावी अभियानमा होमिन पाएको छैन्, घरदैलोमा हिड्न पाएको छैन, निको भएपछि मन्त्री कार्कीलाई सघाउँछु’ उनले भने। यसभन्दा अगाडी मन्त्री कार्कीसंगै प्रदेश सभा ख बाट ताहीर अन्सारी प्रतयक्षबाट निर्बाचित भएका थिए ।
प्रदेश क बाट सभापति उपेन्द्र कटुवाललाई टिकट नदिएपछि उनी रुष्ट छन् । २५ जना महाधिवेशन प्रतिनिधिमा आधाभन्दा बढी मन्त्री कार्कीसंग रुष्ट भएर चुनाव प्रचार प्रसारमा नखट्ने र खटेको भएपनि नाटकीय रुपमा मुख देखाउन आएको एकजना स्थानीय नेताले सुर्यखबरलाई बताए ।
मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर-४ बाट अध्ययन गर्न, जागीर गर्न, ब्यावशाय गर्न, मजदुरी गर्न बिराटनगर, इटहरी, काठमाडौंलगायतका बिभिन्न स्थानमा गएर निर्बाचनमा मतदान गर्न आउन चाहनेलाई ल्याउने र फर्काउने कार्यमा चासो नदिएको बताईएको छ, मन्त्री कार्कीले निकटकालाई सोध्ने गरेको र उनीहरुले आवश्यक नपने बताएपछि मन्त्री कार्की चुपचाप बस्ने गरेको बताईन्छ । यसबाट डेढ दर्जनको हाराहारीबाट यसअघि भोजपुरबाट निर्बाचन हारेका मन्त्री कार्कीलाई त्यस्तै अवस्था आएमा पछुतो लाग्ने उनीहरुको बुझाई छ । मन्त्री कार्की निकट एक नेताले भने, ‘दाईलाई कतिपय आफ्ना निकटकालेसमेत बिजय हुन्छ कि भनेर उल्टो भूमिका खेलेका छन् त्यसलाई मन्त्री कार्कीले नबुझे उल्टो परिणाम आउन सक्छ, त्यसमा उम्मेद्वार आफैं चलाख हुनुपर्नेछ ।’
प्रदेश सभा ‘क’ मा सदानन्द मण्डल र ‘ख’ मा इस्रायल मन्सुरी काँग्रेसबाट उम्मेद्वार छन् । मुशलमान र मधेस समुदायको बढी जनसंख्या भएको प्रदेश सभा ‘ख’ का सभापति भिखारी मण्डललगायतसमेत मन्त्री कार्कीसँग रुष्ट छन् ।

मन्त्री कार्कीले निर्बाचन क्षेत्रमा बसेर सबैलाई समेट्ने प्रयास गरिरहेका छन् र पछिल्लो समय सबै समेटिने अपेक्षा गरेको बताईन्छ ।

मन्त्री कार्कीले विकास गरेका भिडियोहरु आएका भएपनि स्थानीयहरु धेरैजसो मलेशीय, कतार, साउदीलगायतका खाडी मुलुक जाने उक्त क्षेत्रमा धेरै छन् । खाडी नगए उक्त क्षेत्रका अधिकाँस परिवारले आफ्ना परिवार पाल्न र छोराछोरीलाई पढाउन नसक्ने दयनीय अवस्था छ ।