प्रदेश 1

ज्ञानेन्द्र कार्कीलाई जिताएर पठाऔं र प्रधानमन्त्री बनाऔं….

सुबिन विश्वकर्मा, २९ कात्तिक, चक्रघट्टी । ‘सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की जितुन् भनेर देबी भगवतसँग प्राथना गर्दछु किनकि उहाँ हार्नु भनेको यो ठाउँले हार्नु हो, त्यसैले उहाँलाई जिताएर पठाऔं र प्रधानमन्त्री बनाऔं ।’ यो शब्द हो, नेपाली कांग्रेस सुनसरी ४ (क) सभापति उपेन्द्रबहादुर कटुवालको । हिजो (आइतबार) कांग्रेस बराहक्षेत्र ८ वडासमितिले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कटुवालले थपें, ‘म आफूले टिकट नपाएर पार्टीलाई असहयोग गर्ने पक्षमा छैन्, अलि व्यस्त भएर मात्र चुनावी माहोलमा हिड्न नपाएको हो, अब पार्टी जिताउन लाग्छु र प्रदेशसभा जितेर सदानन्द मण्डललाई मन्त्री बनाउँनुपर्छ अनि प्रतिनिधिसभा जितेर ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्छ ।’ सभापति कटुवालले बोलेका यी शब्दहरू सामान्य लागेपनि यसले गहिरो अर्थ दिन्छ । कारण हो, सभापति कटुवालको केहिदिन अगाडिको व्यबहार । सभापति कटुवाल तिनै नेता हुन् जो केहिदिन अघिसम्म टिकट लगायतका सवालहरूमा असहमति राख्दै पार्टीलाई सहयोग गरिरहेका थिएनन् । तर अब उनीसहित पार्टीप्रति रुष्ट भनिएका सुनसरी ४ बाट निर्वाचित महाधिवेशनद्वय प्रतिनिधि अनु गुरुङ र भीम कट्वाल, तरुण दलका सुनसरी जिल्ला संस्थापक सभापति जीवन विष्ट लगायतका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताउन मैदानमा उत्रिएका छन् । १४ औं अधिबेशनमा ‘सुनसरीबाट ज्ञानेन्द्रबहादुर कार्की भगाउ अभियान’ चलाइरहेका सुनसरीका संस्थापक तरुण दल अध्यक्ष जीवन बिस्ट समेत मन्त्री कार्कीलाई जिताउन लागि परिरहेको दृश्यले मन्त्री कार्कीको जीतलाई ढोकाबाट नियालीरहेको भन्न सकिन्छ । योसँगै सुनसरी ४ भित्र नेपाली कांग्रेसमा रहेको अमिलोपन सकिएको छ । यसले गर्दा पनि त्यहाँ सूचना, सञ्चार तथा प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जीतलाई थप सुनिश्चितताको लयमा आएको ४ (क) सभापति कटुवाल बताउँछन् । उनले भनेका छन्, ुहाम्रो पार्टी लोकतान्त्रिक भएकाले एकछिन झगडा गर्छौ तर एकछिनमा मिल्छौ, झगडा सबै पार्टीमा हुन्छ तर कांग्रेसहरू चाँडै मिल्छन्, सुनसरी ४ मा हामी एकजुट छौ ।’
उक्त कार्यक्रममा नेकपा (एस)का जिल्ला उपाध्यक्ष सिताराम पराजुलीले भनें, ‘ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको गहना हो, उहाँलाई पाउने यो क्षेत्र भाग्यमानी हो, यसपटक १५ हजार माथी भोटले निर्वाचित हुन्छन् ।’ अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बिनाकुनै गठबन्धन चुनाव लडेका मन्त्री कार्कीले तत्कालीन बाम गठबन्धनका साझा उमेदवार रमेश श्रेष्ठलाई ६ हजार ९ सय ९७ मतान्तरले जितेका थिए । त्यस अंकगणितलाई नियाल्दा मन्त्री कार्कीको यसपटकको जीत निश्चित देखिन्छ । सुनसरी ४ मा दोस्रोपल्टका लागि प्रतिनिधिसभा सदस्य उमेदवार बनेका मन्त्री कार्कीका मूख्य प्रतिष्पर्धीको रूपमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उमेदवार जगदीश कुसियैतलाई हेरिएको छ । तर मन्त्री कार्कीसँग यसपटक तत्कालीन नेकपा एमालेबाट विभाजित भएर गएको नेकपा (एस) र नेकपा (माओवादी केन्द्र)को साथ छ । ‘अघिल्ला चुनावहरूमामा भिम आचार्य, जगदीश कुसियैत अर्को क्षेत्रबाट आएर यहीँ चुनाव लड्दा टुरिष्ट नहुने, अनि ज्ञानेन्द्रबहादुर कार्की कसरी टुरिष्ट ?’ माओवादी केन्द्रका क्षेत्र नम्बर ४ सहसंयोजक गणेश पाण्डेले भनेका छन्, ‘चुनावको बेला एमालेले यस् क्षेत्रमा जुन हर्कत गरिरहेको छ त्यो सह्य हुनेछैन्, ‘गठबन्धनको समर्थनमा यस् क्षेत्रबाट मन्त्री कार्कीसहित गठबन्धनका सबै उमेदवारको जीत निश्चित छ ।’
पार्टीको आन्तरिक कलह मिलाउन खप्पिस मन्त्री कार्कीले गठबन्धनका सबै नेताहरूलाई पनि सँगै लिएर हिड्ने गरेका छन् । यद्यपि मन्त्री कार्कीको जित्ने मूख्य आधार भनेको उनले गरेका विकास निर्माणका कार्यहरू नै हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन अर्थमन्त्रीको भूमिकामा रहेका कार्कीले गरेका ८० प्रतिशत प्रतिबद्धताहरू पूरा गरेको उनको भनाइ छ । अर्कोतर्फ उनको कामबाट स्थानीयहरू पनि सन्तुष्ट छन् । बराहक्षेत्र ६ स्थित श्रीलंका टापु निवासी बद्रीकुमार राई भन्छन्, ‘यस क्षेत्रबाट निर्वाचित भएर गएका गिरिजाप्रसाद कोइराला, उपेन्द्र यादव, जगदीश कुसियैत लगायतका अघिल्ला सांसदहरूभन्दा सय गुणा राम्रा जनप्रतिनिधि ज्ञानेन्द्रबहादुर कार्की नै हुन् ।’ आफूहरूले यस् क्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीजस्तो जनप्रतिनिधि पाएकोमा भाग्यमानी महसुस हुने गरेको उनको तर्क छ । ज्ञानेन्द्रबहादुर कार्की आउनुभन्दा अगाडि यहाँका प्रत्येक परिवारले वार्षिक ५० हजारको डिजेल किनेर पम्पसेट किन्नुहुन्थ्यो र खेतीपाती गर्नुहुन्थ्यो तर उहाँ आएपछि बिजुली आयो अनि अहिले त्यही काम वार्षिक ५ हजारमा हुने बनाइदिने ज्ञानेन्द्रबहादुर कार्की हाम्रो भाग्य हो, अब कोशीकटानको समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने लागेको छ, उनले भनें । आफ्नो क्षेत्रमा खासगरी सडक सञ्जाल र शिक्षामा मन्त्री कार्कीले अथाह विकास गरेको स्थानीयहरू स्विकार गर्दछन् । आजभोलिका भाषणहरूमा मन्त्री कार्की भन्छन्, ‘मैले तीन वर्षको सांसद विकास कोषबाट पाएको १४ करोड यो क्षेत्रमा खर्च गरेको छु, त्यति मात्र नभएर राष्ट्रिय र एसियायी विकास बैंक सहितको गरेर १० अर्व बढी बजेट यस् क्षेत्रको लागि लगानी भइसकेको छ ।’ यिनै कार्यहरूले पनि मन्त्री कार्कीले आफ्नो क्षेत्रमा बोलेको कुरा पूरा गर्ने नेताका रूपमा छवि बनाइसकेका छन् । सरल र स्पष्ट व्यक्तित्व बोक्ने मन्त्री कार्कीलाई ‘पहुँचवाला’ नेता समेत भन्ने गरिन्छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मन्त्री कार्की राष्ट्रिय राजनीतिमा शेरबहादुर देउवालाई उत्ताराधिकारीको रूपमा समेत हेर्ने गरिन्छ ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनाव हुन अब ८ दिन बाँकी छ । यद्यपि माहोल अहिले गर्मिएको अबस्था छ । सुनसरी ४ मा पनि २५ जना प्रतिनिधिसभाका उमेदवारहरू आफ्नै तरिकाले लागीरहेका छन् । यता गत स्थानीय तहको चुनावको नतिजा हेर्ने हो भनेपनि यहाँ मन्त्री कार्कीको जित पक्का जस्तै छ । बिचमा कुनै चमत्कार नभए कार्कीले नै प्रतिनिधिसभाको चुनाव जित्ने देखिन्छ । मन्त्री कार्कीको विकासप्रेमी नेताको छवि छ । विजुली नपुगेको क्षेत्रमा विजुली पुराएका छन् । बाटो नपुगेको क्षेत्रमा बाटो पुराएका छन् । लौकहीमा पचास करोडको लागतमा कार्कीको अगुवाइमा पुर्व क्षेत्रकै ठुलो टाउन हल बन्दै छ । बराहक्षेत्रमा आधुनिक सुबिधा सम्पन्न हस्पिटल बनाउने सम्झौता तयारीमा छ । सुनसरी–४ को महत्वपूर्ण समस्या कोसी समस्या समाधान गर्न पहल गरिरहेका छन् । त्यही क्षेत्रबाट सप्तकोसीमा पुल बन्ने डिपिआर अध्ययन हुँदै छ । लगाएका थुप्रै कामहरु कार्कीले गरेको कारण त्यहाँका मतदाता सन्तुष्ट देखिन्छन् । ०७४ भन्दा अगाडिको सुनसरी–४ र ०७४ पछाडिको सुनसरी–४ मा धेरैनै फरक छ । बिकासले गति लिएको छ । आफू भगवान नभएको र आफुले ५ वर्षमै कायापलट गर्न नसक्ने तर फेरी ५ वर्ष पाए सुनसरी–४ को मुहार फेर्ने कार्की बताउँछन् । चुनावी अभियानका क्रममा उनले पटकपटक भनेका छन्, ‘मेरो प्रतिष्पर्धा जगदीश कुसियैतसँग होइन, यहाँको गरिबी र बेरोजगारीसँग हो ।’ अर्कोपटक फेरि पनि सुनसरी ४ बाटै अनुमोदित भएर गएपछि अघिल्लो ५ पाँच वर्षमा विकास र पूर्वाधारमा लगानी गरेको र अबको पाँच वर्षमा गरिबी, बेरोजगारी, शिक्षा र शहरीकरणमा ध्यान दिने मन्त्री कार्कीको लक्ष्य छ ।
अर्कोतर्फ मन्त्री कार्कीलाई यस् क्षेत्रका ‘टुरिष्ट नेता’ भन्ने आरोप भने सुनिनै रहन्छ । यसको जवाफमा उनले आफ्नो जन्मथलो भोजपुर र कर्मथलो सुनसरी भएको बताउँदै आएका छन् । साथै, उनले आफ्नो मतदाता नामवली बराहक्षेत्र १० प्रकाशपुरमा सारेका छन् भने जग्गा समेत सोही स्थानमा लिइसकेका छन् । त्यस्तै, उनका विपक्षीले लगाउने अर्को नारा भनेको जातीय नारा हो । ४ प्रतिनिधिसभा र ८ ओटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा लगभग साढे ९ लाख जनसंख्या राहेको छ ।
जसमा ६८ प्रतिशत तराईमूलका नागरिक बसोबास गर्छन् । त्यसमा पनि मन्त्री कार्कीको क्षेत्रमा भने अधिकांश तराईमुलका नागरिकहरूको बाहुल्यता छ । मन्त्री कार्कीका प्रतिद्वन्दी जगदीश कुसियैत यस् क्षेत्रका मधेसी समुदायका उमेदवार भएको भन्दै जातिय समीकरणअनुसार मन्त्री कार्कीलाई मत नआउने जगदीश कुसियैतले दाबी गर्दै आएका छन् । यद्यपि सुनसरी ४ का कांग्रेस सभापति अयुब अन्सारी यो आरोपलाई स्विकार्न तयार छैनन् । सुनसरी ४ मा सबैखाले उमेदवारहरू रहेकोले कुनै जातिय तथा धार्मिक नारा नलगाउन विपक्षीलाई आग्रह गर्दछन् । उनी भन्छन्, ‘हाम्रो क्षेत्रमा सबैखाले ‘क्लस्टर’ मिलाएर उमेदवार बनाइएको हुनाले गलत भ्रम नफैलाउन विपक्षी उमेदवारहरूलाई सुझाउन चाहन्छु ।’ सुनसरी ४ बाट खस आर्य कोटामा नन्दु बस्नेत (प्रदेशसभा सदस्य समानुपातिकतर्फ), आदिवासी जनजाति महिलाबाट अनु गुरुङ (प्रदेशसभा सदस्य समानुपातिकतर्फ), मधेसीबाट हरिलाल मेहता (प्रदेशसभा सदस्य समानुपातिकतर्फ), मुस्लिमबाट हाजी इस्रायल मन्सुरी (प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ), मधेसीबाट सदानन्द मण्डल (प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ), खसआर्यबाट डिल्लीबहादुर कार्की (प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ) र खस आर्यबाट ज्ञानेन्द्रबहादुर कार्की (प्रतिनिधिसभा सदस्य प्रत्यक्ष) लाई उमेदवार बनाइएको छ । त्यसरी हेर्दा सुनसरी ४ मा मन्त्री कार्की निर्वाचनको सेभ जोनमा मात्र नभएर जित्ने पक्कापक्कीको अबस्थामा देखिन्छन् ।