विचार/ब्लग

परम्परा र रितिरिवाजले धनी नेवार जातीः तीन पटक बिबाहसम्मका साँस्कृति

रेनु तण्डुकार/ नेपाल चार जात छत्तिस वर्णको फूलवारी हो । नेवार जातीलाई यही सुन्दर फूलबारीभित्रको एक सुन्दर फूलको रुपमा लिन सकिन्छ । नेवार जात भित्र पनि विभिन्न जातहरु छन् । यसरी जातको विभाजन पहिला पहिला मानिसले गर्ने कामको आधारमा गरिएको थियो । बिभिन्न जातजातीको बसोबास भएपनि काठमाडौं उपत्यकाभित्र नेवार जातीको बाहुल्यता छ । परापुर्बकालदेखि नै उनीहरुको पूर्खाहरुले उपत्यकामा राज्य गर्दै आएका थिए । उपत्यका भन्नेवितिकै काठमाडौ, ललितपुर र भक्तपुर भन्ने बुझिन्छ । नेवारी समुदायको आफ्नै परम्परा, कला अनि संस्कृति छ । बौद्ध, हिन्दुलगायतका धर्म मान्ने नेवार जाती देशको महत्वपूर्ण जातीको रुपमा गनिने गरेको छ ।
सबैभन्दा पहिला नेवारी समुदायको संस्कारको बारेमा कुरा गरौं । परिवारमा छोरी सानो हुदां कुमारी पूजा, अनि वेलसंग विवाह, त्यसपछि सूर्यसंग विवाह गरिदिन्छन् । जसलाई हामी गुफा राखेको पनि भन्छौ । यि संस्कारहरु छोरी मान्छे रजस्वला हुनु भन्दा अगाडी गरिन्छ । यसरी नेवार जातका छोरी मान्छेको जिवनमा तिन पटक विवाह हुन्छ । पहिला वेल, त्यसपछि सूर्य अनि अन्त्यमा मनुुष्यसगं । केटा मान्छेलाई चाहि पहिला कुमार पूजा अनि छेवर त्यसपछि व्रतवन्ध आफ्नै रिति अनि परम्परा अनुसार गरिदिन्छन् । नेवारी परम्पराअनुसार त्यसपछि मात्रै केटा अनि केटीे विवाहको लागि योग्य हुन्छन् ।
नेवारी जातीमा विवाहमा सुपारी समाउने परम्परा छ । यो सुपारी दुलहीको घरमा उनको आफन्तजनसंग विवाह हुनु भन्दा अगाडी समाईन्छ । यो परम्परा केटीको घरमा गरे पनि सुपारी ल्याउने काम चाँही दुलहाको घरबाट गरिन्छ । पहिला पहिला विवाहमा नेवारी जातीमा दुलाहा केटीको घरमा जाने परम्परा थिएन । नेवारी जातीमा विवाह बेलुका मात्र गरिन्थ्यो । हुुन त केटाको घरमा पनि दुलही भित्राएपछि दुलाहाको आफन्तहरुले दुलहीसगं सुपारी समाउने चलन छ । कुमारी बनाउने परम्परा पनि नेवारी जातीमा मात्रै छ । कुमारी बनाउंदा नेवार जातीमध्ये शाक्य भन्ने जातको बालिकालाई बनाईन्छ । कुमारी बनाउँदा बालिका रजस्वला हुनु भन्दा अगाडीको, अनि शरिरमा कुनै चोटपटक नलागेको हुनुपर्दछ । रजस्वला भएपछि कुमारी फेरिने चलन छ अर्थात अर्को बालिकालाई कुमारी बनाइन्छ । नेवार जातीको आफ्नै नेपाल सम्वत् छ । नेपाल सम्वत् भन्नाले आफ्नै नयां वर्ष हुन्छ, जुन महः पूजाको दिन पर्छ, अर्थात त्यस दिनबाट नयाँ वर्ष सुरु हुन्छ । त्यस दिनलाई नेवारी भाषामा ‘न्यू दया’ पनि भनिन्छ । नेवारी परम्परामा महः पूजा पनि गरिन्छ अर्थात आफ्नो शरिरको पूजा । आफ्नो शरिरको पूजा गर्नाले शरिरमा रोग, ब्याध लाग्दैन भन्ने भनाई परापूर्वकालदेखि नै छ । महः पूजा नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा पर्छ । तिहारको भाईटिकामा पहिला पहिला नेवार जातीमा दाईलाई टिका लगाउदैनथे । केवल भाईलाई मात्र टिका लगाउथे । तर अहिले दाई , भाई दुवैलाई लगाइन्छ ।
नेवारी जातीको अब अर्को संस्कारको बारेमा कुरा गरौं । जुन संस्कारमा आफनो माता, पिता अथवा कुनै घरको सदस्य वा नातेदारको मुत्यु भएर क्रिया बस्नु पर्दा अरु जातीमा जस्तो नुन बार्नु पर्दैन अर्थात नुन खान हुन्छ । यस नेवारी समुदायमा क्रिया बस्दा शुरुको दिनदेखि नै सेतो कपडा लगाउनु पर्दैन । मुत्यु भएको दश दिनमा मात्र सेतो कपडा लगाउने चलन छ । यस जातीमा बच्चा जन्माउंदा वा सुत्केरी अवस्थामा सुत्केरी महिलालाई न्वारान नगरेसम्म नुन खुवाउदैनन् । यस समुदायमा चार दिनमा न्वारान गरिन्छ । यसरी नेवारी समुदायले मर्दा नुन खाने तर बच्चा जन्माउदा अर्थात सुत्केरी अवस्थामा नुन नखाने चलन छ । नेवार जातीमा गर्ववती भएको नौ महिनामा दहि चिउरा खुवाउने चलन छ । यो चलन विस्तारै अहिले अरु जातीका मान्छेले पनि अनुशरण गरेको देखिन्छ । त्यस्तै बच्चा जन्मेपछि अर्थात सुत्केरी भएपछि एक महिनाभित्र आफन्तजनले सुत्केरी भेट्न जाने चलन छ । यस बेला बच्चा र सुत्केरीलाई लुगा लगायत खानेकुरा लैजाने चलन छ ।
उपत्यकाभित्र पर्ने शहरमध्ये काठमाडौ पनि एक हो । त्यस शहरको आफ्नै रिति, परम्परा अनि संस्कुति छ । नेवार जातीको बाहुल्यता भएको काठमाडौ उपत्यका नेवार जातीकै कला अनि सस्ंकृतिले भरिपूर्ण छ । नेवारी कला, संस्कुति र परम्पराले नेपाललाई विश्वमा चिनाएको पनि छ । त्यसैले देश विदेशबाट मानिसहरु नेपालको कला, संस्कृति अनि परम्परालाई हेर्न आउंछन् । विदेशीहरुको आगमनले नेपालको पर्यटन क्षेत्रलाई माथि उठाएको छ । काठमाडौ मन्दिर नै मन्दिरले भरिएको शहर हो । यहाँका अधिकाँस मन्दिरहरु नेवारी कलाले भरिएका छन् ।

अब काठमाडौको नेवारी जातीको अर्को परम्पराको बारेमा जानौं । काठमाडौमा गाईजात्रा निकाल्ने परम्परा पनि छ । यो परम्परा चलाउने राजा प्रताप मल्ल हुन् । आफ्नो राज्य चलाउने क्रममा राजा प्रताप मल्लको छोराको मृत्यु हुन्छ । त्यसपछि उनकी रानी छोराको वियोगमा मात्र बस्न थाल्छिन् । यस्तो अवस्थामा आफ्नी रानीलाई देखेपछि, उनले आफ्नी रानीलाई सान्त्वना दिन, जसको घरमा मान्छे मर्छ, त्यसको घरबाट गाइजात्रा निकाल्ने चलन चलाए । उनै प्रताप मल्लले रानीपोखरी पनि बनाए । यो पोखरी उनले आफ्नो छोराको सम्झनामा बनाएका हुन । त्यस्तै काठमाडौका नेवारको दशै पछिको ठूलो चाड घोडेजात्रा हो । घोडेजात्रामा काठमाडौको टुडिखेलमा घोडा डौर्याइन्छ । घोडा डौर्याउने साथसाथै अन्य कार्यक्रमको पनि आयोजना गरिन्छ । जुुन कार्य हाम्रो देशको सेनामा भएको सैनिकद्वारा गरिन्छ । यस कार्यक्रममा भाग लिन राष्ट्रपति अनि प्रधानमन्त्री लगायत विभिन्न गन्यमान्य ब्यतिहरुको सहभागिता हुन्छ । घोडेजात्राको दिन काठमाडौको नेवारले भद्रकाली मन्दिरमा गएर पूजा गर्ने साथसाथै बली दिने परम्परा पहिलेदेखि नै छ । तर आजकाल बली दिने परम्परा लोप हुदै गएको छ । भद्रकाली नेवार जातीको इष्ट देवता हुन् । यस दिन नेवार जातीले विभिन्न मिस्ठान भोजन खाने, इष्टमित्रहरुसँग भेटघाट गर्ने र इष्टमित्रलाई विभिन्न परिकार खुवाउने र आफु पनि गएर खाने चलन छ । त्यस्तै नेवारहरुको अर्को चाड यमरी पुन्हे पनि हो । यस दिन यमरी बनाएर खाने र इष्टमित्रलाई बोलाएर खुवाउने चलन छ । यो यमरी चामलको पिठोबाट बनाइन्छ । यमरीभित्र चाकुु अथवा खुवा हालेर बनाइन्छ ।
त्यस्तै नेवार जातीको बाहुल्यता भएको अर्को शहर भक्तपुर पनि हो । यो शहर पनि कला अनि संस्कृतिले भरिपूर्ण छ । भक्तपुरको नेवारले दुधबाट बनाएको बनाएको जुजु धौ नेपाल भरि प्रख्यात छ । भक्तपुरवासीको दशै पछिको अर्को ठूलो पर्व विष्केट जात्रा हो । यो वैशाख १ गते मनाइन्छ । यस दिन भक्तपुरका नेवारहरुले विभिन्न मिष्ठान भोजन खाने, इष्टमित्रसंग भेटघाट गर्ने, इष्टमित्रलाई बोलाएर विभिन्न परिकार खुवाउने । यसरी भव्य तरिकाले विष्केट जात्रालाई भक्तपुरको नेवारहरुले मनाउछन् । यस जात्रा अन्र्तगत जिब्रो छेड्ने जात्रा पनि पर्छ ।
तेस्तै नेवार जातीको बाहुल्यता भएको अर्को शहर ललितपुर पनि हो । जुन शहरलाई हामी पाटन पनि भन्छांै । पाटनमा बस्ने नेवार जातीले मनाउने दशै पछिको अर्को ठूलो पर्व मच्छिन्द्रनाथको रथ तान्ने जात्रा हो । यस जात्रामा मच्छिन्द्रनाथको रथलाई पाटनको विभिन्न ठाउंमा तानिन्छ । जुन ठाउंमा तानिन्छ त्यस ठाउंमा त्यस दिन भोज गरिन्छ । यो भोजमा विभिन्न मिष्ठान भोजनहरु खाइन्छ साथै इष्टमित्रहरुलाई पनि खुवाइन्छ । यसरी भव्य तरिकाले मनाइन्छ ।रातो मच्छिन्द्रनाथको देवतालाई सहकालको देवताको रुपमा पनि लिइन्छ ।
नेवारी जातीहरु उपत्यकामा मात्रै नभएर नेपालभर नै छरिएर रहेका छन् । उपत्यका बाहिर बस्ने नेवारहरुले आफनो ठाउंमा चलेका परम्परा, संस्कार र संस्कृतिलाई मान्छन् । ठाउं अनुसार फरक फरक हुन्छ, कला, संस्कृति अनि संस्कार । नेवार समुदायमा गुठीको परम्परा छ । यो परापूर्वकालदेखि नै चलि आएको छ । गुठी भन्नाले नेवार जातीको जात अनुसार धेरै मानिसहरु एकै ठाउंमा जमघट वा भेला हुने हो । यो जात अनुसार फरक फरक गुठी हुन्छ । यो समूहमा थकाली हुन्छ । थकाली गुठीमा थकालीले भने अनुसार चल्नुपर्छ । वर्षमा एक चोटी समुहको सबै मान्छे गुठी घरमा भेला हुन्छन्, अनि भोजको आयोजना गर्छन् । गुठीका प्रमुख मान्छेहरुले आफनो जातको वा आफनो समुहको मान्छे मर्दा काँध दिने, जलाउने ठाउं अर्थात घाट सम्म पुर्याउने र जलाउँदा सम्म गरिने सबै संस्कारहरु पनि गरिदिन्छन् । यो गुठीको परम्परा नेवारी जातीमा मात्र छ । यसरी गुठीले आफ्नो जातको मानिसलाई एक भएर बस्न लगाउँछ । नेवारी जातीको गुठीको परम्पराले अरु जातको मानिसलाई पनि एक भएर बस्ने सन्देश दिन्छ । नेवारी जातीमा पनि अरु जातीमा जस्तै गुरु अथवा पुरोहित आफ्नै जाती मध्येबाट हुन्छ, जसलाई हामी नेवारी भाषामा गुबाजु भनिन्छ, जसले मानिस जन्मिदा देखि नमरुनजेल गरिने सबै कर्म काण्डहरु गरिदिन्छन् । त्यसको अलवा पनि पूजा लगाउने, श्राद्ध गरिदिने जस्ता कामहरु पनि गुबाजुबाटै हुन्छ । यसरी गुुबाजु चाही नेवारको ब्रजाचार्य जातको मानिसहरु हुन्छन् । नेवार समुदायभित्र पर्ने थरहरुमा जस्तै जोशी, कर्माचार्य, राजथला, पोडे, च्यामे, कपाली, साही, अवाले, उदास, सिल्पकार, सूवर्णकार, खड्गी, नापीत, प्रधान, श्रेष्ठ, बिसंखे, नगरकोटी, कंसाकार, सिंह, राजबहाक, राजभण्डारी, शाक्य, तण्डुकार, बज्राचार्य, मालाकार, बैद्य, राजमोहन, खोखाली, ताम्राकार, स्थापीत, चित्रकार, महर्जन, डंगोल पर्छन् । नेवारी समुदायको चाडपर्वमा खाने मिष्ठान्न भोजनहरुमा जस्तै क्वाटी, कचिला, छोईला, पुकाला, वः, पाउंक्वा, म्ये, सःपु, म्हिचा, सन्या खुना, तःखा, धौ, सिसाबुसा, थ्वं, अयला, आदि पर्दछन् । नेवारी जातीको आफ्नै भेषभुषा छ । महिलाले लगाउने पहिरनलाई हाकु पतासी भनिन्छ भने नेवार समुदायको परम्परा, संस्कार, संस्कृति अनि रितिथितिलाई संक्षिप्तमा जानकारी दिने प्रयास गरको छु ।