बाग्मती

चाप बढेसँगै कारागार प्रशासन: कैदी स्थानान्तरण


२० पुस, चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । यो सँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन् । उनीहरुसँग चारजना आश्रित बालबालिका छन् । उनीहरुलाई पुस १२ गते स्थानान्तरण गरिएको उनले बताए ।

भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको हो । यस अघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन । जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो । कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च रहेको छ ।

छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो । पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो । चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।