राजनीति

वामदेव उपाध्यक्ष र घनश्यामलाई महासचिव दिने माधवको रणनीति, भीम रावल के ?

काठमाडौं । पूर्व एमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने तयारीमा छन् । तत्कालीन नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान चलाएका गौतम माधव नेपाल नेतृत्व एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । 

तत्कालीन नेकपा हुँदा माधव, प्रचण्ड समूहमा रहेका गौतम सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई केपी शर्मा ओली र प्रचण्डलाई पुरानै घरमा फर्किन आदेश दिएपछि ओली नेकपा एमालेमै फर्किए। प्रचण्ड पनि माओवादी केन्द्रमै फर्किए । तर माधव नेपाल समूह भने एमालेभित्र अन्तरसंघर्षमा निरन्तर लागे। 

केही समय पार्टीभित्र अन्तरसंघर्ष गरे पनि ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेपछि नेपालले नयाँ पार्टी गठन गरेका हुन् । तर वामदेव गौतम भने न एमालेमा रहे न नेपाल नेतृत्व एकीकृत समाजवादीमै । 

उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचन लडेनन्। उनी विभिन्न पार्टीसंग एकता गरेर निर्वाचन लड्ने तयारीमा जुटे पनि कसैले पनि एकता गर्न नमानेपछि निर्वाचनमा पनि उठेनन्। 

गौतम अन्तिम समयमा माधव नेपालसंगै रहने निर्णयमा पुगेका छन्। स्रोतका अनुसार नेता गौतमलाई एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष पद दिने तयारी छ। अध्यक्ष नेपालले गौतमलाई पार्टी प्रवेश गराउनकै लागि भए पनि कार्यकारी अधिकारसहित उपाध्यक्ष पद दिन तयार भएको नेताहरु बताउँछन्‌ । 

केही समय अगाडिमात्र पूर्व एमाले नेता घनश्याम भुसाल पनि एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् । उनलाई पार्टीको पुस ३० गते बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो ।

नेता भुसाललाई महासचिव पद दिने तयारी रहेको नेताहरु बताउँछन्‌ । उनलाई महासचिव दिएर गौतमलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी छ । हालका महासचिव   डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउने तयारी रहेको नेताहरु बताउँछन्‌। नेता भुसाल गत निर्वाचनमा नेकपा एमालेले टिकट खोसेपछि एमाले परित्याग गरेका हुन् । 

अध्यक्ष ओलीले रूपन्देही क्षेत्र नम्बर १ को टिकट एमालेका नेता छविलाल विश्वकर्मालाई दिएपछि नेता भुसालले अमला परित्याग गरेका हुन्। उनले एमाले परित्याग गर्दै सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अन्तिममा उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो। 

माओवादीको भागमा परेको सो क्षेत्रमा प्रचण्डले कुनै उम्मेदवारी नै नदिई नेता भुसाललाई समर्थन गरेका थिए। तर पनि उनी पूर्व सहकर्मी छविलाल विश्वकर्मासंग साढे तीन हजार बढी मतान्तरले पराजित भए । विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा भुसालले २१ हजार ३०८ मत ल्याए ।  

त्यस्तै, ओलीले अर्का नेता भीम रावलको पनि टिकट खोसेका थिए । अछाम– १ बाट निर्वाचन लड्दै आएक नेता रावलको टिकट खोसेर माओवादीबाट एमाले प्रवेश गरेका नेता झपट बोहरालाई टिकट दिए। तर पनि उनी पराजित भए। 
 
स्रोतका अनुसार रावललाई पनि विशेष जिम्मेवारी दिएर पार्टी प्रवेश गर्ने तयारीमा छन् माधव नेपाल ।