स्वास्थ्य

जनचेतनामूलक कार्यक्रम गरी भक्तपुरमा कुष्ठरोग दिवस मनाइयो

१५ माघ, काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आइतबार भक्तपुरका पनि ७०औँ विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले अन्तक्र्रियामा जिल्लामा कुष्ठरोगको विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा सरोकारवालासँग छलफल ग¥यो । कार्यक्रममा भक्तपुरमा तीन कुष्ठरोगी नियमित उपचारमा रहेको जानकारी दिँदै स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल पर्सन भोला पौडेलले ती तीनै जना जिल्ला बाहिरका स्थायी बासिन्दा भएको बताए ।

उनले समाजमा अझै पनि कुष्ठरोगका बारेमा अन्धविश्वासी धारणा रहेकाले सामाजिक विभेदको डरले कुष्ठरोगी सार्वजनिकरूपमा खुल्न नसकेको बताए । सामाजिक विभेदको डरकै कारण भक्तपुरका कुष्ठरोगी आनन्द वनलगायतका उपचार केन्द्रबाट नियमित औषधि सेवन गरिरहेको बताए ।

उनले भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसङ्ख्यामा ० दशमलव ०२ जना रहेको र पत्ता लागेका नयाँ बिरामीको दर प्रति एक लाख जनसङ्ख्यामा ० दशमलव ४६ जना रहेको जानकारी दिए । भक्तपुरमा कुष्ठरोगको रोकथामका लागि सक्रिय बिरामीको खोजी गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कुष्ठरोगबाट हुने अपाङ्गता रोकथामलगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सेवाप्रदायकको क्षमता अभिवृद्धि, बहुऔषधि व्यवस्थापनलगायतका कार्य गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वपः अस्पतालका प्रमुख डा रत्नसुन्दर लासिवाले भक्तपुरका कुष्ठरोगीले जिल्ला बाहिर कहाँ, कसरी उपचार गरिरहेको छ त्यसको विस्तृत विवरणसहितको तथ्याङ्क स्वास्थ्य कार्यालयले राख्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा अझै पनि जनचेतनाको अभावमा कुष्ठरोग, क्षयरोगजस्ता बिरामी लुकेर बस्ने गरेको बताउँदै अझै पनि सामाजिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए ।

उनले स्वास्थ्य अन्य कार्यक्रमसँगै कुष्ठरोगका बारेमा प्रचार–प्रसार गर्ने, स्थानीय तहले छालाजन्य स्वास्थ्य शिविर सञ्चालन गरी कुष्ठरोगका बिरामीको खोजी गर्ने र कुष्ठरोग कुनै पाप नभई यो पनि अन्य रोगजस्तै एउटा रोग भएको र उपचार गरे निको हुने सन्देश नियमितरूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले सबै तहमा कुष्ठरोग निगरानी प्रणाली र नियमित अनुगमन, सुपरीवेक्षण र आवधिक मूल्याङ्कनलाई सुदृढ गर्दै लैजाने बताउँदै स्थानीय तहले पनि कुष्ठरोगीको तथ्याङ्क अद्यावधिक राख्नुपर्ने सुझाव दिए ।

उनले नेपालमा अझै पनि कुष्ठरोगका कारण हुने अपाङ्गता दल उच्च रहेको, केही स्थानीय तहमा यसको प्रकोप दर उच्च रहेको, कुष्ठरोग प्रति सामाजिक भेदभाव विद्यमान रहेको, मुलुकी देवानी संहिता २०७४ मा समेत कुष्ठरोगका बारेमा विभेदपूर्ण व्यवस्था रहेको जानकारी दिँदै त्यस्ता समस्या समाधानमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।