खेलकुद

पहिलो संस्करणको यू–१९ महिला टी–२० विश्वकपको उपाधि भारतलाई

१६ माघ, काठमाडौं । भारतले पहिलो पटक आयोजना भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।

आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

इंग्ल्याण्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले १४ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि गोन्गाडी त्रिसाले २४ रन बनाइन् । यस्तै सौम्य तिवारीले अविजित २४ रन योगदान गरिन् । कप्तान सफाली बर्माले १५ रन बनाइन् ।

इंग्ल्याण्डकी हानाह बेकर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड भारतीय बलिङ सामु टिक्न नसक्दा १७.१ ओभरमै ६८ रनमा अलआउट भयो ।

इंग्ल्याण्डका लागि राएना म्याकडोनाल्ड गेले १९ रन बनाइन् । भारतकी तितास साधुले ४ ओभरमा ६ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै अर्चना देवी र पार्शभी चोपराले पनि समान २ विकेट लिए ।

कप्तान शफाली र मन्नत कश्यपले १/१ विकेट लिइन् । प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्लेअर अफ दि सिरिज घोषित भइन् ।