काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । बैठकमा बोल्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् ।
बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट दबाब आएको बताएका हुन् । तर प्रचण्ड भने रविलाई गृहमन्त्री बनाउने तयारीमा छैनन् ।
आज बिहान भएको भेटमा पनि रविले आफू पुन: गृहमन्त्री बन्ने चाहना व्यक्त गरेका थिए । उनले आफूले गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए । तर प्रचण्डले भने गृहमन्त्री दिन नसक्ने संकेत गरे ।





