राजनीति

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

२० माघ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ । भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु ।’

‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दुख र सुखीमा म तपाईहरूको साथसाथै छु’, प्रधानमन्त्रीले भने, ‘जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु । म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ । आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछ ।’

‘नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ । मैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु’, प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’

प्रधानमन्त्रीले भने, ‘प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखियो । प्रतिनिधिसभाबाट मलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भयो । त्यो मेरा लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि हो । विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीहरूको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौं । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ ।’

‘शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ। समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो’, प्रधानमन्त्रीले भने, ‘शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’

‘भौतिक पूर्वाधार महत्वपूर्ण कुरा हो नै । तर, मुख्य कुरा गुणस्तर हो। गुणस्तरका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी हुन्छ । त्यसका लागि म तपाईहरू सबैमा विशेष अपील गर्दछु’, प्रधानमन्त्रीले भने । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्वोधन गरेका थिए ।