अन्तर्राष्ट्रिय

पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु

२० माघ, एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकारीहरूका अनुसार जिल्लाको बाग-ए-नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो । झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए । केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन् ।

सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा सम्लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।