समाचार

वडाबाटै सामाजिक सुरक्षा भत्ता

२१ माघ, नलगाड । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।

नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र दुई दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिए । बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको छ ।

नगपालिकामा १३ वडा छन् । साविकका पाँच गाविस मिलाएर नगरपालिका बनेको हो । प्रत्येक वडामा एक दिन लगाएर भत्ता वितरणको काम सुरु भएको छ । गाउँमै भत्ता पाएपछि आफूहरु खुसी भएको नलगाड नगरपालिका–८ का बले कामीले बताए ।