राजनीति

रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीको यस्तो छ प्रतिक्रिया

२२ माघ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

आइतबार संघीय संसद् भवन परिसरमा पत्रकारसंग कुरा गर्दै उनले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे । सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा लागेको उनले बताए । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए ।