समाचार

प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी

२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

सो क्रममा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको उनको भनाइ छ ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका छन् ।